काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरूले सेयर धितो अर्थात् मार्जिन ल्यान्डिङ शीर्षकमा ९९ अर्ब ७० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरूले उक्त कर्जा प्रवाह गरेका हुन् ।
यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा लगानी भने क्रमशः ४९ खर्ब चार अर्ब ७२ करोड ६० लाख र ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । लघुुवित्त वित्तीय संस्थाबाहेकको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा रकममध्ये वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४३ खर्ब २५ अर्ब ५८ करोड ४० लाख तथा ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ । सोमध्ये वाणिज्य बैंकहरूले सेयर धितोमा मात्र ८३ अर्ब ७० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा विकास बैंकहरूले भने सेयर धितो शीर्षकमा १२ अर्ब १९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा विकास बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख र चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ । फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो छ महिनाको सेयर धितो शीर्षकमा तीन अर्ब ८० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्सहरूको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९५ अर्ब ६१ करोड ५० लाख र ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ रहेको छ ।
सीआईबीद्वारा बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी माताङगी पक्राउ
बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीका अनुसार बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी राधा माताङगीलाई भक्तपुरको सूर्यविनायकबाट सोमबार पक्राउ गरिएको हो ।
ललितपुर महानगरपालिका वडा नं. ६ घर भई हाल भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ११ कमलविनायक बस्ने माताङगीले सानिमा बैंक लिमिटेड सूर्यविनायक शाखामा रहेको सानिमा नारी बचत खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी वि.सं. २०७७ साउन २० गते चेक दिएको र उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट माताङगीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिमको कसुरमा १९ लाख रुपैंयाँ जरिवाना र पाँच दिन कैद हुने ठहर हुने फैसला भएको थियो ।
उच्च अदालत पाटनको फैसलापश्चात् फरार रहेकी माताङगीलाई सीआईबीको फैसला कार्यान्वयन तथा खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले सोमबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार माताङगीलाई सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।