काठमाडौं । नेपालमा बेरोजगार दर उच्च हुँदा रोजगारीकै लागि वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या उच्च छ । सरकारी तथ्यांकअनुरुप हरेक वर्ष करिब पाँच लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् । श्रम बजारमा प्रवेश गर्ने जनशक्तिको संख्या उच्च र रोजगारीका अवसर ज्यादै न्यून हुँदा युवाहरु बाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन् । तर यसरी वैदेशिक रोजगारीमा जाँदा युवाहरु ठगीमा पर्ने गरेका छन् ।
सरकारी अधिकारीका अनुरुप हरेक आर्थिक वर्षमा करिब एक हजारदेखि एक हजार दुई सयसम्म विदेश पठाउने नाममा ठगी गरेको उजुरी आउने गरेको छ । उक्त संख्यामा उजुरी आउने भए पनि बढी मात्रामा भने ठगीका झूटा उजुरी आउने गरेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्ण प्रसाद भुसालले दाबी गरे ।
‘विदेश पठाउने नाममा व्यक्ति, समूह, संस्था मिलेर ठगी गरेको भन्दै युवाहरु उजुरी लिएर आउने गरेका छन्’, उनले भने, ‘विदेश जाने नाममा पीडित भएर आउँछन् । तर, त्योभन्दा ठगीका मुद्दा लिएर आउने गरेका छन् ।’ विदेश पठाउने भन्दै ठगीमा परेका पीडितहरुलाई भने विभागले कानुनी दायरमा ल्याई कारबाही गर्ने गरेको छ । आवश्यकताअनुरुप क्षतिपूर्ति दिलाउनेदेखि लिएर अदालतसमक्ष पु-याई जरिवाना कैद समेत गर्ने गरेको निर्देशक भुसालले बताए ।
विदेश जाने नाममा व्यक्ति र मेनपावरले ठगी गर्ने गरेको विभागको भनाइ छ । त्यस्तै, चालू आर्थिक वर्षको अर्धवार्षिक समयमा विदेश पठाउने भन्दै एक सय १३ वटा उजुरी विभागसमक्ष परेको छ । त्यस्तै पाँच करोड ३१ लाख रुपैयाँ ठगी भएको भन्दै पीडितहरुले दाबी गरेका छन् ।
ठगीको उजुरी आएसँगै विभागले सरोकारावाला पक्षलाई बोलाई त्यसको न्यायिक जाँच गर्ने गरेको छ । जसले गर्दा पीडितहरुले राहत प्राप्त गर्ने गरेका छन् । अर्धवार्षिक अवधिमा ४२ वटा संस्था अर्थात् मेनपावरलाई गैरकानुनी काम गरेको भन्दै विभागले जरिवाना तिराएको छ । त्यस्तै उक्त अवधिमा व्यक्ति तथा मेनपावरलाई दुई करोड २४ लाख रुपैयाँ बिगो र एक करोड २३ लाख रुपैयाँ जरिवाना तिराउने काम विभागले गरेको छ ।
अर्धवार्षिक अवधिमा विदेश पठाउने भन्दै व्यक्तिगततर्फ दुई सय ९० वटा उजरी परेको छ भने १६ करोड ८५ लाख लाख रुपैयाँ ठगी भएको छ । ३३ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने पाँच करोड ६१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै पीडित–पीडकबीच मेलमेलाप गराई चार करोड ५८ लाख रुपैयाँ मिलापत्र गराई भुक्तानी गराइएको छ । ठगीलाई नियन्त्रणमा ल्याउनको लागि कानुनी कारबाहीका अतिरिक्त अनुगमन, उपयुक्त कानुन निर्माण, तालिम प्रदान, सचेतना कार्यक्रमलगायतका कार्यहरु विभागले गर्दै आएको निर्देशक भुसालले बताए । विदेश जाने युवाहरुको लागि सचेतना कार्यक्रम अत्यन्त आवश्यक रहेकाले यसको लागि प्रभावकारी भूमिका भने स्थानीय तहले खेल्नसक्ने उनको भनाइ छ ।
ठगी मात्र वैदेशिक रोजगारीको समस्या होइन । युवाहरु विदेशमा गएपछि विभिन्न कारणले गर्दा काम नगर्दा थप समस्या देखिएको विभागका अधिकारीहरुको भनाइ छ । सेवा सुविधा चित्त नबुझ्दा, विदेशमा पुगेपछि घर परिवारको चिन्ताले फर्किन मन लाग्नेलगायतका कारणले गर्दा पनि युवाहरु समस्यामा पर्ने गरेको पाइन्छ । उक्त समस्या समेत समाधान गर्नु सरकारलाई चुनौतीको रुपमा देखा परेको छ । यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार लैंगिक हिसाबले हेर्दा कुल वैदेशिक रोजगारीमा जानेमध्ये ९५.८ प्रतिशत पुरुष र ४.२ प्रतिशत महिला छन् । तर, पीडित हुनेमा पुरुष र महिलाको प्रतिशत भने फरक हुने गरेको छ ।