काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न आइतबार सैद्धान्तिक सहमति जानकारी नबिलले विज्ञप्तिमार्फत दिएको छ । सोही आधारमा पनि अब नबिललाई एनबी बैंक प्रप्ति गर्न बाटो खुलेको हो ।
नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसनपश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रूपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब नौ करोड रहेको छ । यस एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियोअनुरूप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।
पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्बभन्दा बढी प्राथमिक पुँजी रहेकोमा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पुँजी ४४ अर्बभन्दा बढी हुन आउनेछ । यसले राष्ट्रिय गौरव तथा निर्माणका क्रममा रहेका ठूला आयोजनाहरूमा नबिल बैंकको प्रमुख वित्तीय लगानी रहँदै आएकोमा थप व्यवसाय विस्तार गर्न मदत पुग्ने देखिन्छ ।
यसैगरी छ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा दुई अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोडभन्दा बढी रहेकोमा एक्विजिसनपश्चात् बैंकको खुद मुनाफा दुई अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ । एक्विजिसनपश्चात् नबिल बैंकको कुल कर्जा करिब तीन खर्ब एक अर्ब र कुल निक्षेप करिब तीन खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल ४१ र एटीएम संख्या दुई सय ९२ पुग्नेछ ।