काठमाडौं । माछापुच्छ्रे बैंकले गंगालाल हस्पिटललाई २४ बेडको सीसीयू वार्ड हस्तान्तरण गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मंगलबार उक्त बेड हस्तान्तरण गरिएको हो । बैंक सञ्चालक समितिका सदस्यहरू, उच्च व्यवस्थापनका कर्मचारी एवं गंगालाल हृदयरोग केन्द्रका उच्च व्यवस्थापनका प्रतिनिधिहरूमाझ बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले हस्पिटलका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई उक्त वार्ड हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
यस्तो पुनित कार्यमा सहभागी हुने अवसर प्रदान गर्ने कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलगायत सम्पूर्ण हस्पिटल टिमलाई माछापुच्छ्रे बैंकले हार्दिक आभार समेत व्यक्त गरेको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा एक अर्ब एक करोड आठ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमााएको छ । गत आवको सोही अवधिमा भने बैंकले ८० करोड २७ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी १० अर्ब ७५ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक खर्ब ३७ अर्ब ४९ करोड ५६ लाख २४ हजार रुपैयाँ निक्षेप सङ्कलन गरी एक खर्ब ३१ अर्ब ९९ करोड सात लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब २४ करोड ८७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ६४ करोड ४७ लाख दुई हजार रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने दुई दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३१ अर्ब ६१ करोड ७९ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक खर्ब १३ अर्ब ५७ करोड २० लाख नौ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९८ करोड ८४ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १९ प्रतिशत रहेको थियो ।