बेइजिङ । चीनमा फेरि कोरोनासम्बन्धी लकडाउन सुरु भएको छ । कोरोना संक्रमण फैलिनथालेसँगै सरकारले कडाइ सुरु गरेको हो । यसअघि महामारीका बेला पनि चीनले कडा लकडाउन गरेको थियो ।
अहिले भएको लकडाउन महामारीयताकै ठूलो भएको बताइएको छ । योसँगै बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना केही अपरेसनहरु रोकेको बीबीसीले जनाएको छ । नयाँ लकडाउनको मारमा दशौँ लाख मानिस परेका छन् । जिलिन प्रान्त पूरै लकडाउनमा छ भने प्रविधिको हब मानिने शेन्जेन पनि लकडाउनको मारमा परेको छ ।
टोयोटा, फक्सवागन र एप्पलको आपूर्तिकर्ता फक्सकनलगाायतले केही अपरेसन रोकेका हुन् । लकडाउनसँगै आपूर्ति प्रणालीमा असर गर्ने पनि देखिएको छ । चीनमा मंगलबार एकैदिन पाँच हजार संक्रमित भेटिएका थिए । तीमध्ये धेरै जिलिनका रहेको बुझिएको छ । त्योसँगै झण्डै साढे दुई करोड जनसंख्या रहेको पूरै प्रान्त सोमबारदेखि क्वारेन्टाइनमा बसेको छ । चीनले वुहान र हेबेईपछि पहिलोपटक यो प्रान्त पूरै लकडाउन गरेको हो ।
जिलिनका बासिन्दालाई प्रान्तभित्र र बाहिर हिँड्डुलमा प्रतिबन्ध लगाइएको छ । त्यस्तै शेन्जेनका एक करोड २५ लाख बासिन्दालाई पनि पाँच दिने लकडाउन लगाइएको छ । बेइजिङसँग जोडिएको लांगफांग सहर र गुआङदोङको दंगगुआनमा पनि लकडाउन लगाइएको छ ।
ती क्षेत्रका सबै व्यवसाय रोक्न पनि भनिएको छ । शेन्जेनमा फक्सकनले एप्पलका लागि आईफोन उत्पादन गर्छ । टोयोटाले जिलिनको चांगचुनस्थित कारखानामा सेवा रोकेको छ । सोही स्थानमा फक्सवागनले पनि सेवा रोकेको छ ।