काठमाडौँ । सरकारले नेपाल पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले बुधबार रातिदेखि नै लागू हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेपछि राति १२ बजेदेखि मूल्यवृद्धि भएको छ ।
बुधबार रातिदेखि लागू भएको नयाँ मूल्यसूची पेट्रोलियम पदार्थमा नेपालमा अहिलेसम्मकै सबैभन्दा महंगो मूल्य हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ भने खाना पकाउने ग्यासको भने मूल्यवृद्धि गरेको छैन ।
यस्तै हवाइ इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १५ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर दुई सय वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक सय ३८ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर एक सय ५१ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १ दशमलव ४९५ पुगेको छ ।
मूल्यवृद्धि गर्दा पनि आगामी १५ दिनमा करिब चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । कैयौँ देशहरुले रुसको बजारबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रतिबन्ध लगाएको कारण बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।