काठमाडौं । रोजगारीको प्रलोभनमा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स यूएईमा पुगेर अलपत्र परेका नेपालीहरूको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ । दुई देशका श्रममन्त्रीबीच भएको सहमतिअनुसार रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई लाने गैरकानुनी एजेन्टहरूलाई कारबाहीको दायरामा ल्याउन यूएई सरकारले सहयोग गर्नेछ । यूएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा उक्त सहमति भएको हो । यूएईको राजधानी आबुधावीस्थित मानव संसाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र यूएईमा नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बीमा, पारिश्रमिक वृद्धिलगायतका विषयमा पनि छलफल भएको थियो । भेटमा श्रममन्त्री श्रेष्ठले यूएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको बताएका थिए । यूएईका मानव संसाधन मन्त्री अवारले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा यूएई सरकारले सहयोग गर्ने बताए । लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले यूएईमा रहेका घरेलु महिला श्रमिकहरू लाभान्वित हुने मन्त्री अवारले बताए ।