धन बहादुर जप्रेल
कञ्चनपुर, माघ २८
कञ्चनपुरको सदरमुकाम रहेको भीमदत्त नगरपालिकाको नगर विकास समितिको नाममा रहेको सरकारी जग्गामा निर्माण गर्न रोक लगाइएका भवनहरु नियमविपरीत भूमाफियाहरुले धमाधम निर्माण गरिरहेका छन् । सरकारले २०६९ सालमा सरकारी जग्गालाई लिजमा दिएर भवन निर्माण गर्न रोक लगाएको थियो । उक्त निर्णयपछि सरकारले सरकारी जग्गा लिजमा दिन पूर्ण रुपमा रोक लगाए पनि स्थानीय खोका छाप्राबासीहरु लगायतले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
२०६९ सालअगाडि तत्कालीन समितिले मनपरी ढंगले तोकादेशका भरमा विभिन्न व्यवसायीलाई सरकारी जग्गा भाडामा दिएका थिए । नगर विकासका समितिहरुले मनोमानी ढगंबाट सरकारी जग्गालाई भाडामा वितरण गरेको पाइएपछि लिजमा दिन रोक लगाइएको हो । उक्त निर्णयविपरीत हाल महेन्द्रनगरका बजार क्षेत्रमा रहको सरकारी जग्गामा अवैध रुपमा पक्की घरहरु निर्माण हुन थालेका छन् ।
गत वर्ष अवैध लिज प्रकरणमा निर्माण भइरहेका भवनहरु भत्काउन विभिन्न विद्यार्थी संगठनहरुले अभियानमार्फत डोजर चलाएर भत्काउने प्रयास गरेका थिए तर स्थानीय खोकाछाप्राबासीले आफूहरुले वैधानिक रुपमा नै जग्गाको मालपोत र कर तथा जग्गाको भाडा तिरेको र नगर विकास समितिको निर्णयअनुसार पक्की टहरा निर्माण गरेको बताएपछि विवाद साम्य भएको थियो ।
स्थानीय सरोकारवालाहरुको सर्वदलीय बैठकले पनि सरकारी लिजमा रहेको जग्गामा निर्माण भइरहेका पक्की संरचना निर्माणमा रोक लगाउने र बनेका भवनलाई भत्काउने निर्णय गरेका थिए । उक्त निर्णयलाई सरकारले पनि सदर गरेको थियो । गत वर्ष नै सरकारले नगर विकास समिति विघटन गरेर उक्त सरकारी जग्गा स्थानीय सरकारको मातहतमा रहने प्रावधान बनाएको थियो ।
यद्यपि हालसम्म नयाँ कार्यसमिति बनाउनसकेको छैन । महेन्द्रनगरमा अवैध रुपमा निर्माण हुनलागेका पक्की संरचनालाई सरकारले भत्काउने निर्णय गरेको भए पनि हालसम्म भत्काएको छैन । यसको फाइदा उठाउँदै भूमाफिया तथा दलाली गर्ने घरधनीहरुले रातारात घर निर्माण गर्ने काम गरिहेका छन् । निर्माण गर्न रोक लगाइएका घरहरु हाल बजार क्षेत्रकै मुख्य सडक आसपासमा बनिरहेका छन् । अवैध जग्गामा बन्न लागेका भवनहरुमा अधिकांश भवनमा सटर समेत जडान भइसकेका छन भने केही भवनहरुमा पसल नै सञ्चालन भइसकेका छन् ।
महेन्द्रनगर बजार क्षेत्रको मुख्य क्षेत्र पुरानो बसपार्क क्षेत्रमा नै अवैध रुपमा भवनहरु निर्माण भइरहँदा पनि स्थानीय सरकार भीमदत्त नगरपालिका भने मौन बसेको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन् । भूमाफियाहरुले खोकाछाप्रोको फाइदा उठाउँदै पक्की संरचना निर्माण गरेर भाडामा लगाई फाइदा उठाउने काम भइरहेको स्थानीयहरुको बुझाइ रहेको छ ।
भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले नगर विकासको जग्गामा निर्माण भइरहेका भवनहरु भत्काउनुपर्छ भन्दै आएको भए पनि हालसम्म उनले भत्काउनेतर्फ चासो नदेखाएको र विरोधका उत्रिएका विद्यार्थी संगठनहरु पनि सुस्ताएको स्थानीयको भनाइ रहेको छ । हाल भीमदत्त नगरपालिकाका पुरानो बसपार्क क्षेत्र, होटेल ओपेराको पछाडिपट्टिको जग्गामा अवैध रुपमा पक्की भवनहरु निर्माण भइरहेका छन् । यस्तै भगतपुर क्षेत्रमा सकेत सरकारी जग्गामा अवैध रुपमा भूमाफियाहरु भवन तथा घरहरु निर्माण गरिहेका छन् ।