विराटनगर । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको नाममा बैंक तथा वित्तीय संस्थालाई कडा निर्देशन दिएसँगै अहिले सुनसरी मोरङ औद्योगिक करिडोरका व्यवसायीहरू चर्को ब्याजमा ऋण लिएर धमाधम लेटर अफ क्रेडिट (एलसी) खोलेर सामान मगाउन बाध्य भएका छन् ।
केही व्यवसायीले चर्को ब्याजमा ऋण लिएर एलसी खोले पनि केही व्यवसायीहरू भने एलसी खोल्नै नसक्ने अवस्थामा पुगेका छन् । एक व्यवसायीका अनुसार पर्याप्त नगद भएका व्यापारीसँगै चर्को ब्याजमा पैसा लिएर उनीहरूले एलसी खोलेका हुन् । राष्ट्र बैंकले चार हजारभन्दा बढी वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि व्यापारीहरूले आफ्ना नजिकका ठूूला उद्योगी तथा व्यवसायीहरूसँग नै महँगो ब्याजमा पैसा लिएर एलसी खोलिरहेको उनले बताए । उनले भने, ‘सामान अर्डर भइसकेको छ, उताबाट पार्टीले चाँडो एलसी खोल्न ताकेता गर्न थालेपछि बाध्य भएर ठूला व्यापारीबाट साना व्यापारीले पैसा चलाउन लिनेगरेका छन् ।’ अनिवार्य नगद मार्जिन राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेपछि व्यापारीले गैरकानुनी तवरबाट आर्जन गरेको पैसा चर्को ब्याजमा दिनेगरेको स्रोतको दाबी छ । गैरकानुनी तवरबाट आर्जित रकम देशकै ठूला उद्योगीले चलाइरहेको हुँदा त्यही रकम मध्यस्तरका व्यापारीले चर्को ब्याजमा पैसा लिएर सामान मगाइरहेका हुन् ।
एक बैंकर्सका अनुसार केन्द्रीय बैंकले आयात निरुत्साहित गर्न यस्तो व्यवस्था गरेको हो । बैंकसँग लगानीयोग्य रकम छैन । बैंकले औद्योगिक कच्चापदार्थबाहेक अन्य वस्तु आयात गर्न शतप्रतिशत नगद मार्जिन मागिरहेको छ । जसले गर्दा व्यापारीले आफ्नो बजार जोगाइराख्न अनेकन उपाय लगाएर सामान मगाइरहेका छन् । ग्राहक भड्किने डरले व्यापारीले ठूला व्यापारीसँग ३० देखि ३५ प्रतिशतसम्म चर्को ब्याजमा रकम लिएर एलसी खोलिरहेको पाइएको छ । केन्द्रीय बैंकको नीतिका कारण ठूला उद्योगीहरू पछिल्लो समय चर्को ब्याजमा लगानी गरेर कमाउ धन्दामा लागेका छन् । व्यावसायिक घरानाका व्यक्तिहरू नै चर्को ब्याजमा पैसा लगाइरहेको स्रोतको दाबी छ । स्रोतका अनुसार साना व्यापारीहरूले गाडी आयात, कस्मेटिक्स सामान, अत्तर, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री, फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्रीलगायत आयात गर्नका लागि ठूला उद्योगी तथा व्यवसायीबाट चर्को ब्याजमा रकम लिएर नगद मार्जिनको व्यवस्था गर्ने र एलसी खोल्ने गरिरहेका छन् ।
केन्द्रीय बैंकले लिएको नीतिले वैदेशिक व्यापारमा केही ठूला व्यापारीको मनपरी चल्ने र साना व्यवसायी बाध्य भएर अनधिकृत बाटोमा लाग्ने दाबी पनि समाचारस्रोतले गरेको छ । शतप्रतिशत नगद मार्जिन राखेपछि बैंकले बाध्य भएर एलसी खोल्नुपर्छ । एलसी खोल्नेबित्तिकै विदेशी मुद्रा बाहिरिने साना व्यवसायीहरूको भनाइ छ ।