काठमाडौं । लघुवित्तका लगानीकर्ताहरूको साझा संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान)को दोस्रो वार्षिक साधारणसम्पन्न भएको छ । पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको सभापतित्व एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले गरेको थिए ।
सभामा बोल्दै प्रमुख अतिथि पौडेलले लघुवित्त क्षेत्रको समस्या समाधानका लागि सरकार र नेपाल राष्ट्र बैंकले एसोसिएसनसँग सहकार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तको माध्यमबाट कसरी देशलाई समुन्नत बनाउने, कसरी रोजगारी सिर्जना गर्ने र लघुवित्तका सेवाग्राहीहरूले चर्को ब्याजदरको बोझ भोग्न नपर्ने कसरी बनाउन सकिन्छ, यस विषयमा सरकारले एसोसिएसनसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका हुन् । पौडेलले लघुवित्तप्रति जनताको आकर्षण बढ्दै जाओस् भन्दै शुभकामना पनि व्यक्त गरेका थिए ।
सभामा नेपाल राष्ट्र बैंकका निर्देशक डा. शालिकराम पोख्रेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा नेसनल लघुवित्तका अध्यक्ष केशव प्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा लघुवित्त विषयमा विद्यावारिधि गरी विज्ञता हासिल गरेका पाँच जनालाई विशेष सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैंकका निर्देशक डा. शालिकराम पोख्रेल, पूर्वसचिव डा. मानबहादुर विश्वकर्मा, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. पुष्पराज शर्मा, त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा. भरत सिंह थापा र अर्थविद् नरहरि ढकाललाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
एसोसिएसनको उपाध्यक्ष भगवती चौधरीले सभामा उपस्थित सबैलाई स्वागत मन्तव्य व्यक्त गर्दै लघुवित्तले तिर्दै आएको ३० प्रतिशत करमध्ये २० प्रतिशत सरकारलाई र बाँकी १० प्रतिशतबाट लघुवित्त कोष स्थापना गरी उक्त कोषबाट नै लघुवित्तलाई ऋण प्रवाह गरेमा लघुवित्त सञ्चालनमा सहज हुने बताएकी छिन् । दुई चरणमा सम्पन्न साधारणसभामा पहिलो चरणको कार्यक्रम सञ्चालन एसोसिएसनका महासचिव बाबुराम विश्वकर्माले गरेका थिए भने दोस्रो चरणको बन्दसत्रको सञ्चालन एसोसिएसनका सचिव अनन्तकुमार श्रेष्ठले गरेका थिए ।
बन्दसत्रमा अध्यक्षता ग्रहण गर्दै एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै लघुवित्त क्षेत्रको समस्या समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंकसँग निरन्तर कुरा उठाइरहेको बताएका छन् । अध्यक्षले सभामा प्रस्तुत प्रगति प्रतिवेदनसहित प्रस्तावित कार्यक्रमहरू सर्वसहमतिमा पारित भएको थियो भने बन्दसत्रमै एसोसिएसनका कोषाध्यक्ष नरेश केसीले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन पनि सर्वसहमतिमा पास भएको थियो । सभामा एसोसिएसनका सञ्चालक सदस्य बाबुराम थापा, सञ्चालक सदस्य विमला उपाध्याय, सञ्चालक सदस्य किरण चौधरीसहित ५० लघुवित्तका ६० जना अध्यक्ष तथा सञ्चालकहरूको सहभागिता थियो ।