काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच सम्झौता भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको हो ।
उक्त सम्झौताअनुसार बैंकले हेफर नेपालसँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा बैंकिङ क्षेत्रभन्दा बाहिर रहेकाहरूलाई बैंकिङ चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरी बैंकिङ पहुँचमा ल्याउने लक्ष्य रहेको छ । उक्त कार्याक्रम सञ्चालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सन्दर्भ सामग्री निर्माण गरी यो कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको छ ।
सम्झौतामा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका छन् । बैंकले सबै क्षेत्रमा गरी ९७ वटा शाखा कार्यालयहरू, ८५ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।