काठमाडौं । संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले दुबईमा रहेका घरेलु कामदारको सुरक्षा अवस्थाबारेमा जानकारी लिएका छन् ।
वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा यूएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाहरूबाट उनले जानकारी लिएका हुन् । बुधबार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवाप्रदायक संस्था (तडवीर सेन्टर)मा भ्रमण गरी उनले घरेलु कामदारको कार्यस्थल अवस्था, कानुनी व्यवस्था, पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा, हिंसामा पर्नसक्ने जोखिम तथा सुरक्षाको प्रत्याभूतिलगायतबारे जानकारी लिएका थिए ।
यूएईका सरकारी अधिकारी तथा तडवीर सेन्टर सञ्चालकले यूएईमा घरेलु कामदारको सुरक्षा प्रत्याभूति रहेको बताएका थिए । उनीहरूले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा यूएई आउनुपुर्व गर्नुपर्ने तयारी, घरेलु कामदारको अधिकार तथा सुरक्षाबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । सरकारले २०७३ सालदेखि खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट आउने क्रम रोकिएको छैन । हालै सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ ।
कानुनी बाटोबाट कामदार पठाउँदाभन्दा गैरकानुनी बाटोबाट जाँदा जोखिम बढेकोले कामदारलाई सुरक्षित र वैधानिक तरिकाले काम गर्ने वातावरण मिलाउनुपर्ने आवाज पनि उठेको छ । मन्त्री श्रेष्ठले घरेलु कामदारका रूपमा जाने श्रमिकलाई सुरक्षाको प्रत्याभूति दिने र व्यवस्थित बनाउनेबारे सरोकारवलाहरूसँग छलफल गर्दै आएका छन् । मंगलबार नेपाल–यूएई संयुक्त समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।