स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोटमा आयोजित एक धार्मिक कार्यक्रममा उनले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी दिए ।
यस्तै उनले रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउने संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने बताए । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’ विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरूले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । गण्डकी प्रदेशसभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको बताए ।
कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले बृहत् भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका र सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले यसमा धार्मिक पर्यटन महत्वपूर्ण पाटो रहेको उल्लेख गरे । दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्ड सम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।
स्याङ्जाको चापाकोटमा पहिलो पटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाए । स्थानीयको माग सम्बोधन गर्दै उनले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुल, साथै ज्याग्दीखोलामा समेत पुलको योजना आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक भागवतप्रकाश मल्लले चापाकोट र आसपासका क्षेत्रको विकासका लागि आफूले हरसम्भव प्रयास गर्दै आएको बताए । कार्यक्रममा चापाकोट नगरपालिकाका मेयर शिव गिरीले झण्डै पाँच वर्षको अवधिमा स्थानीय सरकारले नगरपालिकको मुहार फेर्ने काम गरेको बताए ।