सुबास बस्नेत
दोलखा, माघ २८
पछिल्लो समय दोलखामा सम्बन्धविच्छेद गर्नेहरुको संख्यामा वृद्धि भएको छ । जिल्ला अदालत दोलखामा एक सयभन्दा बढी सम्बन्धविच्छेदको मुद्दा दर्ता भएका छन् । सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा महिलाहरुकै संख्या बढी भएको जिल्ला अदालतले जनाएको छ । दोलखामा गत वर्ष ५७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।
जिल्ला अदालत दोलखामा अहिले सम्बन्धविच्छेदका १ सय ३८ थान मुद्दा दर्ता भएर बसेका छन् । अदालतका अनुसार दर्ता भएका मुद्दामध्ये ३१ वटा फस्र्यौट भएको छ । अर्थात् ३१ जोडीले सम्बन्धविच्छेद गरेका छन् । चालू आवमा परेका ८० थानमध्ये ४७ थान महिलाले र ३४ थान पुरुषले मुद्दा दर्ता गराएको अदालतले जनाएको छ ।
२०७४ भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्दामा पुरुषभन्दा महिलाको संख्या बढी रहेको अदालतका सूचना अधिकारी एकरामुल हकले बताए । मुलुकी देवानीसंहिता २०७४ को दफा ९६ मा सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । ऐनले एक वर्ष मेलमिलापका लागि कुर्ने भनेको भए पनि त्यसपछि सम्बन्धविच्छेदमा जाने भएकाले समाजमा विकृति बढेर जानेमा उनले चिन्ता व्यक्त गरे । बाबुआमा सम्बन्धविच्छेद गरेपछि उनीहरुका सन्तानलाई हुने असरका बारेमा समयमा नै सोच्न नसकिएमा समाजमा विकृतिको अवस्था सिर्जना हुनेछ ।
सम्बन्धविच्छदेका लागि महिला, पुरुष दुवैतर्फबाट मुद्दा दर्ता हुनेक्रम बढेको छ । सम्बन्धविच्छेद बढ्नुको मुख्य कारण वैदेशिक रोजगारी, गरिबी, झैँझगडा र स्वतन्त्र रहन चाहनु रहेको उनले बताए । त्यसैगरी माघ २३ गतेसम्म अदालतमा करणीसम्बन्धी १९ थान मुद्दा दर्ता भएकोमा २ थान मात्र फस्र्यौट भएको छ । चोरीका १३ थान मुद्दा दर्ता भएकोमा फस्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत चरीकोटले जनाएको छ ।