काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव मनाएको छ । पोखरा ९, न्यूरोड, कास्कीमा प्रधान कार्यलय रहेको फाइनान्सले विसं २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको हो ।
नेपालभर सञ्चालित वित्तीय संस्थाहरूमध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ । स्थापनाकालको २५औँ वर्षसम्म आइपुग्दा संस्थाले ठूलो संख्यामा ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरूमा सहभागी भई सामाजिक कार्यहरूलाई उच्च प्राथमिकता दिँदै अगाडि बढिरहेको छ ।
फाइनान्सको हाल अधिकृत पुँजी एक अर्ब ५० करोड रहेको छ भने चुक्ता पुँजी एक अर्ब चार लाख रुपैयाँ रहेको छ । देशका विभिन्न ठाउँहरूमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाको हालसम्म २४ वटा शाखा संख्या, एउटा एक्सटेन्सन काउन्टर र चारवटा एटीएम सञ्चालनमा रहेको छ । २५औँ वार्षिकोत्सवको अवसरमा फाइनान्सले यही चैत २ गते प्रधान कार्यलयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको २५औँ वर्षसम्मको निरन्तर यात्रामा सद्भाव र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, सेयरधनीहरू, शुभेच्छुक, कर्मचारी तथा नियामक निकायहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै फाइनान्सले आगामी दिनहरूमा समेत आफ्नो ग्राहकहरूलाई छिटो, छरितो, सुरक्षित एवं सुदृढ सेवा प्रदान गर्न तत्पर रहेको वित्तीय संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिए ।