काठमाडौं । नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री वितरण गर्ने व्यवसायीहरूको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेताहरूलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालू पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफ्नो व्यवसायको आवश्कताबमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवा सुविधाहरू प्राप्त हुने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै, बस्नेत (डनिल)ले नबिल बैंक सदैव साना तथा मझौला स्तरका व्यवसायीहरूको दिगो विकासको लागि समय–सान्दर्भिक कर्जा तथा सुविधाहरू सरल र सहज किसिमले बढीभन्दा बढी व्यवसायीहरूको पहुँचमा पु-याउन निरन्तर लागि परिरहेको जानकारी गराए । यस साझेदारीअन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरूको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको छ ।