ब्रसेल्स । युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले रुसेली अन्तरिक्ष संस्था रोसकस्मोससँग मिलेर गरिरहेको मंगल ग्रहसम्बन्धी परियोजना निलम्बन गरेको छ ।
एक वक्तव्य जारी गर्दै ईएसएले आफ्नो वेबसाइटमा अहिलेकै अवस्थामा रुसी संस्थासँग मिलेर काम गर्न नसक्ने उल्लेख गरेको छ । यी दुई संस्था मिलेर एक्सोमार्स रोभर मिसनबारे सहकार्य गरिरहेका थिए । युक्रेनको अवस्थालाई ख्याल गर्दै यस्तो निर्णय लिएको ईएसएले जनाएको छ ।
रुसले २१ दिनयता युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ । त्यहाँ भइरहेको मानवीय र भौतिक क्षतिलाई दृष्टिगत गर्दै ईएसएले यो निर्णय लिएको हो ।
आगामी सेप्टेम्बरमा बेलायतमा बनेको राोसालिन्ड फ्रान्कलिन मार्स रोभर मंगलग्रहमा पठाउने तय गरिएको थियो । त्यसलाई मंगलमा आठ महिनापछि रुसी हार्डवेयर प्रयोग गरी अवतरण गराउने तयारी गरिएको थियो । गत महिना नै ईएसएले प्रतिबन्ध र पछिल्लो परिस्थितिलाई लिएर आगामी मिसनमाथि प्रश्न उठेको जनाएको थियो ।