काठमाडौं । औद्योगिक क्षेत्रको प्रारम्भिक चरणको काम अघि बढेको छ । औद्योगिक क्षेत्रको लागि जग्गा प्राप्तिको काम कठिन भएको अवस्थामा समेत औद्योगिक क्षेत्रका प्रारम्भिक चरण अर्थात् जग्गा प्राप्ति, विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)लगायतका कामहरु सम्पन्न भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । रुपन्देहीको मोतिपुर, बाँकेको नौबस्ता र चितवनको शक्तिखोर औद्योगिक क्षेत्रमा डीपीआर तथा ईआईएको काम अघि बढेको मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलले बताइन् ।
यसका साथै सर्लाहीको मुर्तियार, तनहुँको सिन्टुटार, दाङमा लक्ष्मीपुर, कैलालीको लम्की र दैलेखको डुंगेश्वरमा र मुलुकका विभिन्न स्थानमा थप छवटा नयाँ औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । नयाँ औद्योगिक क्षेत्रको समेत कामहरु अघि बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
प्रत्येक प्रदेशमा ठूला आकारका कम्तीमा एक–एकवटा औद्योगिक क्षेत्र स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार थप छवटा स्थानमा नयाँ औद्योगिक क्षेत्र घोषणा भई डीपीआर तथा भौतिक संरचनाको (पहँुचमार्ग तथा सिमाना घेराबार) निर्माणकार्य भइरहेको छ । त्यस्तै थप पाँच स्थानामा पूर्वसम्भाव्यता अध्ययन, डीपीआर बनाउने तथा ईआईएलगायतका कार्यहरु भइरहेको छ ।
त्यस्तै, औद्योगिक क्षेत्रभित्र स्थापित उद्योगहरुलाई विकसित जमिन, भवन, विद्युत्, पानी सडक, ढललगायतका औद्योगिक पूर्वाधारहरु निर्माण गर्ने, लगानीयोग्य परियोजनाहरुसम्बन्धी सूचनाको संकलन, अध्ययन, विश्लेषण, प्रचारप्रसार, बिक्रीवितरण वा प्रकाशन गर्नेलगायतका कार्यहरु गरी उद्योग औद्योगिक क्षेत्रमा सञ्चालन गर्ने वातावरण बनाउने काम लिमिटेडले गर्दै आएको छ । औद्योगिक क्षेत्रको लागि सबैभन्दा कठिन काम भनेको जग्गा प्राप्ति र रुख कटानको समस्या हुने गरेको छ भने सो कार्य समेत अघि बढेको छ ।
मन्त्रालयले बागमती प्रदेशस्थित मकवानपुरमा निर्माण हुने मयुरधाप औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएको ईआईए प्रतिवेदन वन तथा वातारण मन्त्रालयमा पेश भएको र शिलान्यास सम्पन्न भएको बताएको छ । यस्तै बजेटमा समेत काठमाडौंमा रहेका उद्योगहरु स्थापना भए विभिन्न सुविधा प्रदान गर्ने भनिए पनि ती उद्योगहरु गएका छैनन् । सो विषयमा सरकारले पर्याप्त अध्ययन गरेको पाइँदैन ।
प्रदेश ५ स्थित बाँकको नौबस्ता र मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा प्राप्त भएको छ । डीपीआर प्रतिवेदन तथा ईआईए प्रतिवेदन स्वीकृत भई शिलान्यास भएको, परियोजना कार्यालय स्थपना भएको तथा बागमती चितवनको शक्तिखोर औद्योगिक क्षेत्र र दर्जी औद्योगिक क्षेत्र, कञ्चनपुरको वन क्षेत्रको जग्गाप्राप्ति र रुख कटान अनुमति लिने कार्य प्रक्रियामा रहेको, ईआईए सम्पन्न भएको छ ।
मुलुकभर १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् । बालाजु, पाटन, हेटौंडा, भक्तपुर, पोखरा, नेपालगञ्ज, बुटवल, गजेन्द्रनारायण सिंह, धरान र वीरेन्द्रनगर सञ्चालनमा छन् । मुलुकमा औद्योगिक विकास गर्नका लागि उद्योगहरुलाई आवश्यक पर्ने आधारभूत पूर्वाधारहरु जमिन, औद्योगिक भवन, सडक, विद्युत्, पानी, ढल तथा अन्य सुविधाहरु एकै ठाउमा उपलब्ध गराउने उद्देश्यले वि.सं. २०१६ सालमा बालाजु औद्योगिक क्षेत्रको शिलान्यास गरी नेपाल सरकार तथा अमेरिकी सरकारको सहयोगमा औद्योगिक क्षेत्र स्थापनाको सुरुवात गरिएको हो ।