काठमाडौं । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको भगवती लेमिनेट्सले गर्ने कारोबारमा दोहोरो बिल गर्ने गरेको खुलेको छ । वार्षिक एक अर्बभन्दा बढी कारोबार गर्ने लेमिनेट्सले सरकारी संयन्त्रको आँखा छल्न कच्चा बिल अर्थात् नर्मल बिल र पक्का बिल अर्थात् भ्याट बिल गर्ने कार्यालय छुट्टाछुट्टै राखी कारोबार गर्दै आएको खुलेको हो ।
झापामा रहेको लेमिनेट्सको दुईवटा कार्यालयमध्ये मेचिनगरमा पक्का बिल अर्थात् भ्याट बिलको कारोबार गरी काम गर्ने र धुलाबारीमा रहेको अर्को कार्यालयबाट भने कच्चा बिल अर्थात् नर्मल बिलबाट कारोबार हुने गरेको छ ।
नेपाली लगानीकर्ताको भनेर कार्यालय खुलाइए पनि मूल लगानीकर्ता भने सीमापारिका रहेको लेमिनेट्समा दोहोरो बिलको फण्डा खुल्नासाथ पर्दा पछाडि रहेर फसाउनकै लागि नेपालीहरुलाई हैसियतविनाको मालिक बनाएर राखिएको छ ।
नेप्लाई ब्राण्डलाई आक्रामक विस्तार गरेको भगवती लेमिनेट्सले उत्पादन गरेको ए, बी र सी ग्रेडका प्लाइउडमध्ये ए ग्रेडको प्लाइउड बिक्री गर्दा समेत भ्याट छल्नकै लागि सी ग्रेडको बिक्री गरेको भनी बिल जारी गर्ने गरेको छ ।
वार्षिक कारोबारको ६० प्रतिशत व्यापार काठमाडौंका हुने लेमिनेट्सको दोहोरो बिलको विषयमा समाचारहरु आएपछि यसका डिलर तथा खुद्रा व्यापारीहरुले आफूहरु समेत फस्ने भन्दै दोहोरो कारोबारको बिलहरु मिलाउनकै लागि १५ दिन व्यापार बन्द गरेर पुनः कारोबार खुलाउँदा बजारमा प्लाइउडको कृत्रिम अभाव देखाउँदै मूल्यवृद्धि गरी खोलेका थिए ।
विष्णु मधगोरिया मुख्य सञ्चालक रहेको भगवती लेमिनेट्सको प्लाइउडको व्यापार गर्ने डिलर तथा सबडिलरहरुको समेत तत्काल छानबिन गर्नुपर्नेमा राजस्व अनुसन्धान विभागले छानबिन अघि नबढाउँदा यसको फाइदा उठाउँदै डिलर तथा सबडिलरहरुले सबै फर्जी कारोबारहरु मिलाएर मात्र पुनः बिक्री सुरु गरेका हुन् ।
अर्बको कारोबार गर्ने भगवती लेमिनेट्सले दुई किसिमका बिलहरु जारी गरी राजस्व छली गरेका समाचारहरु निरन्तर आएपछि यसको केन्द्रीय कार्यालयमा औपचारिकता देखाउनकै लागि राजस्व अनुसन्धान विभागले छापा मारेको थियो । करोडौँको राजस्व छलीको विषय समाचारहरुमा आएको लामो समयमा मात्र छापा मारेको राजस्वले कम्पनीलाई हिसाब मिलाउने समय दिएर छापा मारेको बुझिएको छ ।
यस्तो कारोबारको छापा मारेपछि तत्काल छानबिन अघि बढाउनुपर्ने भए पनि मिलेमतोमा कानुनी छिद्र खोज्दै उम्काउनकै लागि छानबिनमा ढिलासुस्ती गरेको विभागको भूमिका नै शंकास्पद देखिँदै आएको छ ।
स्रोतका अनुसार भगवती लेमिनेट्सको करछलीको विषयमा हेरिरहेको राजस्व अनुसन्धान विभागको इटहरी शाखाको छानबिनमा विभागले लगाम लगाएको छ । नेमिनेट्सले मुख्य कार्यालयसँग साँठगाँठ अघि बढाएकै कारण विभागको हस्तक्षेप राजस्व अनुसन्धान कार्यालयको इटहरी शाखामा परेको हो ।
वार्षिक करोडौँको नक्कली बिल जारी गरी करछली गर्ने भगवती लेमिनेट्सले दोहोरो बिलमार्फत करछली गरेको र यसमा विभागका उच्च अधिकृतहरुसँगको मिलेमतो देखिएको छ । कानुनी छिद्रमार्फत उम्काउने तथा डिलर र सबडिलरहरुले समेत कारोबार नै बन्द गरी गैरकानुनी कारोबार लुकाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएर नजिकबाट हेरिरहेको बताइएको छ ।