काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप परिचालन रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा वित्तीय क्षेत्रको कुल निक्षेप तीन दशमलव छ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप नौ दशमलव आठ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः आठ दशमलव तीन प्रतिशत, ३० दशमलव एक प्रतिशत र ५४ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ दशमलव दुई प्रतिशत, ३३ दशमलव तीन प्रतिशत र ४८ दशमलव नौ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ माघ मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८ दशमलव आठ प्रतिशत रहेको छ । २०७७ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४२ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २५ दशमलव दुई प्रतिशतले बढेको छ ।
चालू आवको सात महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२ दशमलव एक प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२ दशमलव आठ प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह २२ दशमलव सात प्रतिशतले बढेको छ । २०७८ माघ मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव आठ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव सात प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव चार प्रतिशत र १२ दशमलव तीन प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १३ दशमलव छ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा नौ दशमलव तीन प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३ दशमलव आठ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा पाँच दशमलव छ प्रतिशतले बढेको छ समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११ दशमलव तीन प्रतिशतले, ओभर ड्राफ्ट कर्जा २१ दशमलव तीन प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा १२ दशमलव सात प्रतिशतले, रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३ दशमलव पाँच प्रतिशतले र हायर पर्चेज कर्जा पाँच दशमलव पाँच प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा भने २५ दशमलव पाँच प्रतिशतले घटेको छ । यस अवधिमा मार्जिन प्रकृति कर्जा अर्थात् सेयर धितो कर्जा पनि सात दशमलव दुई प्रतिशतले राष्ट्र बैंकले जानकारी दिएको छ ।