दोलखा । प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेका छन् । दोलखाको लामाबगरमा रहेकोे चार सय ५६ मेगावाट क्षमताको बहुचर्चित राष्ट्रिय गौरवको आयोजनाको प्रधानमन्त्री देउवाले शनिबार स्थलगत अनुगमन गरेका हुन् ।
आयोजनाअन्तर्गतको रामेछापको मन्थली नगरपालिका–१३ साँखेमा निर्माणसम्पन्न न्यु खिम्ती सबस्टेसनको उद्घाटन गरेपछि प्रधानमन्त्री देउवा माथिल्लो तामाकोशीको अनुगमन गर्न लामाबगर पुगेका थिए । आयोजनासँग जोडिएको र देशकै दोस्रो ठूलो न्यु खिम्ती २२०/१३२ केभी क्षमताको सबस्टेसनसमेत उद्घाटन भएपछि यो आयोजनाको काम पूर्णरूपमा सकिएको छ । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले आयोजनासँग सम्बद्ध र सहयोगी सबैलाई सम्मान गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, जिल्लास्थित प्रमुख राजनीतिक दलका नेता, निर्माण व्यवसायीको उपस्थितिमा शनिबार एक कार्यक्रमका बीच आयोजनाका सम्बद्ध सबैलाई सम्मान समेत गरेका थिए । आयोजनाले हालसम्म एक अर्ब युनिटबराबरको बिजुली प्रवाह समेत गरिसकेको छ ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने बताए । कुल एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलायशुक्त आयोजना र सात सय ५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनालाई आयोजनालाई अगाडि बढाउने उनको भनाइ छ । बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजना लामो समयदेखि प्रक्रियामा रहे पनि ठोस काम अगाडि बढ्न सकेको छैन । स्वच्छ र हरित ऊर्जाका लागि पनि ठूला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको उनको भनाइ छ । यस्तै उनले पेट्रोल र डिजलबाट मुक्त हुन पनि विद्युत्बाटै सबै काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले विद्युत् खरिद सम्झौता (पीपीए)को प्रक्रिया अगाडि बढाउनका लागि सरकार तयार रहको उल्लेख गरे । यस्तै उनले नेपालको आफ्नै लगानी र मिहिनेतले बनेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् आपूर्तिमा ठूलो योगदान पु-याएको भन्दै सम्बन्धित कर्मचारी, निर्माण व्यवसायी सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि जलाशयुक्त आयोजनाको विकास गर्नुपर्नेमा जोड दिएकी थिइन् । सन्तुलित गुणस्तरीय भरपर्दो बिजुली र ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजना नै देशका लागि जरुरी रहेको उनको भनाइ थियो । मन्त्री भुसालले मधेश प्रदेशबाहेकका सबै प्रदेशमा ठूला जलाशयुक्त आयोजना निर्माण गर्नेगरी तयारी भइरहेको समेत जानकारी दिइन् ।
कार्यक्रममा ऊर्जासचिव देवेन्द्र कार्कीले स्थानीयवासीको केही गुनासो भए सम्बोधन गर्नुपर्ने र त्यसका लागि सरकार तयार रहेको बताए । सांसद जीपछिरिङ लामाले जनतालाई सेवा दिने गरी नीति तय गरी आयोजना अगाडि बढाउनुपर्ने बताए भने पूर्वमन्त्री एवं सांसद पार्वत गुरुङले नेपाल चीन जोड्ने सडक निर्माणको प्रक्रिया अगाडि बढाउन र जनतासँग जोडिएका भौतिक पूर्वाधारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विशाल खड्काले आयोजनाले दोलखाली जनतालाई समेत फाइदा पुग्नुपर्नेमा जोड दिए । यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लगानीमा नै ठूला–ठूला परियोजना अगाडि बढाउने तयारीमा प्राधिकरण रहेको बताए ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई ‘गेम चेन्जर परियोजना’को संज्ञा दिँदै उनले प्राधिकरणको आर्थिक अवस्था सुधार गर्न समेत यसले महत्वपूर्ण योगदान गरेको बताए । विसं २०७२ को ‘गोरखा भूकम्प’, आयोजनाको डिजाइनमा भएको परिवर्तन, प्राकृतिक विपत्ति र सीमामा भएको अवरोधलगायतका कारणले आयोजना निर्माणसम्पन्न हुन ढिलाइ भएको र लागत समेत बढ्न गएको उनको भनाइ थियो । सुरुआती चरणमा ब्याजबाहेक ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माणसम्पन्न हुँदासम्म ८२ अर्ब रुपैयाँ पुगेको छ ।
न्यु खिम्ती सबस्टेसनको उद्घाटन : प्रधानमन्त्री शेरबहादुर देउवाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भएकोे न्यु खिम्ती सबस्टेसनको उद्घाटन गरेका छन् । रामेछापको मन्थली नगरपालिका–१३ साँखेमा निर्माणसम्पन्न नेपालकै दोस्रो ठूलो सबस्टेसनको प्रधानमन्त्री देउवाले शनिबार उद्घाटन गरेका हुन् ।
२२०/१३२ केभी क्षमताको न्यु खिम्ती सबस्टेसन दोलखाको उत्तरी क्षेत्र विगु गाउँपालिका–१ गोँगर लामाबगरमा स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठूलो चार सय ५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य भाग हो । माथिल्लो तामाकोशी आयोजनाले नै निर्माण गरेको यो सबस्टेसन ढल्केबरपछिको दोस्रो ठूलो सबस्टेसन हो ।
न्यु खिम्ती सबस्टेसनमा तामाकोशीसहित ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु दोस्रो र २४ दशमलव १ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ । यस्तै सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।
करिब एक सय ३७ रोपनी क्षेत्रफल रहने सबस्टेसनमा हाल ५५ रोपनी क्षेत्रफलमा सवस्टेसन निर्माण भएको हो । तामाकोशी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादित विद्युत् जोडिने यो सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । सबस्टेसनमा आठवटा २२० केभी ग्यास इन्सुलेटेट स्वीचगियर वे र छवटा १३२ केभी एयर इन्सुलेटेट स्वीचगियर वे रहेका छन् । साथै, सबस्टेसनमा २२०/१३२ केभी, ३३ दशमलव ३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरू जडान गरिएको छ ।
कार्यक्रममा प्रधामन्त्री देउवासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।