काठमाडौं । सरकारले खेलकुद विश्वविद्यालय सञ्चालनको तयारी गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताए । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरू भएको तनदिने विद्यालय खेलकुद शिक्षक तालिमको उद्घाटन गर्दै उनले खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस भएको उल्लेख गरे ।
नेपालमा सबै प्रकृतिका खेलहरू खेल्न सक्ने खालको उपर्युक्त वातावरण रहेको उल्लेख गर्दै उनले त्यसको आधार तयार गर्न खेलकुद विश्वविद्यालय सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने भरपर्दाे माध्यमका रूपमा खेलकुदलाई हेरिने गरे पनि राज्यले खेल क्षेत्रलाई उपेक्षा गर्दै आएको मन्त्री अथकको गुनासो थियो । ‘राज्यले कुल बजेटको शून्य दशमलव १६ प्रतिशत बजेट मात्र युवा तथा खेल क्षेत्रका लागि छुट्याएको छ’, उनले भने, ‘यसैबाट सबै प्रशासनिक तथा खेल पूर्वाधार निर्माणको काम गर्नुपर्छ, अनि कसरी हुन्छ खेल क्षेत्रको विकास ?’ खेलकुदलाई उद्योगका रूपमा विकास गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै उनले स्वस्थ्य, राष्ट्रिय पहिचानसँगै उत्पादनको क्षेत्रमा समेत खेलकुदको भूमिका महत्वपूर्ण रहने दाबी गरे ।
पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका कारण मृत्यु हुने दर बढ्दै गइरहेको उल्लेख गर्दै उनले भने, ‘हामी अस्पताल निर्माणलाई मात्र विकास भएको ठान्छौँ तर हरेक जिल्लामा खेलमैदान निर्माण भए अस्पतालको आवश्यकता नै पर्दैन ।’ स्वास्थ्य नागरिक उत्पादनको आधार नै खेलकुद भएको मन्त्री अथकको भनाइ थियो । सातदोबाटोस्थित प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयको हाताभित्र शनिबारदेखि तीनदिने विद्यालय खेलकुद शिक्षक तालिम सञ्चालन गरिएको हो ।