काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताएका छन् । कोषको ३२औँ वार्षिकोत्सव कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताए ।
साथै उनले मुलुकको स्तरोन्नतिको लागि अहिले १७ देखि २० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताए । यस्तै उनले निष्क्रिय रहेको पुँजीलाई लगानी गर्नुपर्ने खाँचो औँल्याए । आयातमा भएको वृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको भन्दै उनले उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताए । सेयरबजारमा लगानी कोषको भूमिका महत्वपूर्ण हुने भन्दै उनले कोषसँग सहकार्य गर्न बोर्ड तयार रहेको उल्लेख गरे । कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करिब आठ लाखभन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु-याइरहेको जानकारी दिए ।
कोषको चुक्ता पुँजी तीन अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम एक खर्ब ८४ अर्ब ९० करोड रुपैयाँ रहेको छ । यो अवधिमा कोषले एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताए । कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना गरी सञ्चालनमा ल्याएको पनि जनाएको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको नौ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको नेपालले बताए ।
कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाइ थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवास कर्जाबापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरिसकेको बताए । कोषका सञ्चालक ईश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहे पनि सञ्चालनदेखि कोष नाफामा गएको बताए । त्यसैगरी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाईंले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेटमार्फत करछुटको सीमा बढाउनुपर्ने, कोषसरहकै अन्य संघ/संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने माग राखेका थिए । कार्यक्रममा कोषले २० वर्ष सेवा पुगेका र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो ।