काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत काठमाडौं बसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेसनरी सामग्रीहरू हस्तान्तरण गरेको छ ।विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले स्कुलका विद्यार्थीहरूलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख श्री बसन्त दाहाल र न्यूरोड शाखा प्रबन्धक जितबहादुर गुरुङ र नवआदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुराज श्रेष्ठ, सहप्रध्यानाध्यापकद्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडीलगायत विभिन्न शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।
नवआदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब तीन सय जना विद्यार्थीहरूलाई न्यूनतम शुल्कमा अध्यापन गराइरहेको छ । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरूको आधारभूत आवश्यकता पूरा गरी गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको हो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १४ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।