काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्स सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा शुक्रबार वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले आव २०७७/२०७८ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ । साथै आव २०७८/२०७९ का लागि लेखापरीक्षकको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । सभामा सेयरधनीहरूले राखेका प्रश्न एवं जिज्ञासाहरूको जवाफ संस्थाका अध्यक्ष पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका मुख्य लगानीकर्ता एनआरएनका सचिव राजेन्द्र कुमार शर्मा, एसिया प्यासिफिक क्षेत्रका संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले बोलेका थिए । कार्यक्रम संस्थाका कम्पनी सचिव राजसुन्दर श्रेष्ठले सञ्चालन गरेका थिए । आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५औँ शाखा विस्तार गरेको फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को वीरगञ्ज तथा प्रदेश नं. १ को इटहरीसहित अन्य जिल्लाहरूमा शाखा कार्यालय खोल्ने योजना रहेकोे बताइएको छ ।
फाइनान्सले पछिल्लो वर्षमा उल्लेख्य वित्तीय विवरण सुधार गर्दै आफ्नो ग्राहकवर्गलाई उच्चतम प्रविधिका साथ सेवा उपलब्ध गराउँदै आएको छ । घरमै बसी अनलाइनमार्फत सहज तथा सरल तवरले खाता सञ्चालनको नयाँ सुविधा समेत संस्थाले हालसालै सञ्चालनमा ल्याएको प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताएका छन् ।