काठमाडौं । लामो समयदेखि रिक्त रहेको गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा सरकारले डा.शंकर प्रसाद शर्मालाई नियुक्त गरेको छ । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसबमोजिम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा.शंकर प्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
गत असोज ५ गते सरकारले भारतका लागि नेपाली राजदुत निलम्बर आचार्यलाई फिर्ता बोलएसँगै उक्त पद खाली रहेको थियो । सोहीअनुरुप वर्तमान सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
यसैबीच मन्त्रिपरिषद्को गत मंसिर १० गतेको बैठकले डा.शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया सकिएपछि परराष्ट्र मन्त्रालयले भारत सरकारसँग स्वीकृति (एग्रिमो) का लगि पठाएको थियो । तर भारतले तीन महिनापछि सहमति (एग्रिमो) पठाएको कारण शर्माको नियुक्ति ढिलो भएको हो । यसअघि डा.शर्मासँग सिफारिस पठाएका ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री क्रमश बेलायत र अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् ।
यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका शर्मालाई तत्कालीन सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।