काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सदस्य हजुरी विष्टलाई कारबाहीको माग गर्दै सहकारी विभागमा आइतबार उजुरी परेको छ । भण्डारी र विष्ट दुवै जना लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध छन् । एउटै संस्थाबाट दुई जना संघमा प्रतिनिधित्व हुनु गैरकानुनी भएको भन्दै कारबाहीको माग गर्दै उजुरी परेको हो ।
भण्डारी लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत र विष्ट सोही सहकारीका सञ्चालक समिति सदस्य हुन् । सहकारी ऐन २०७४, नियमावली २०७५ अनुसार कुनै एक व्यक्ति कुनै एक संस्थाको मात्र सञ्चालक हुन पाउने व्यवस्थाको बर्खिलाप गरिएको भन्दै दुवै जनालाई उजुरीमा कारबाहीको माग गरिएको छ । विष्ट पहिले वीन बहुउद्देश्यीय सहकारी संस्थाको सदस्यबाट आएकी थिइन् भने पछि अध्यक्ष सुरेन्द्र भण्डारीलाई सहयोग गर्नकै लागि लालीगुराँस सहकारी हुँदै संघमा आएकी थिइन् ।
आफ्ना नातागोता इष्टमित्रहरुलाई जागिरमा लगाउनुको साथै संघमा भएको अधिकांश कारोबारहरु भण्डारीले आफ्नो एकल निर्णयमा आफू प्रमुख कार्यकारी अधिकृत रहेको संस्था लालीगुराँस सहकारीबाट गराएर दुरुपयोग गरेको, सञ्चालकहरुलाई थाहा नदिई अपारदर्शी आर्थिक कारोबार गरेको आफ्नो एकल निर्णयमा भागेको संस्था मानापाथी बहुउद्देश्यीय सहकारी संस्थामा पाँच करोड लगानी गरेको लगायतका आरोपहरु भण्डारीमाथि लाग्दै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सहकारी महासंघ तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघलाई बोधार्थ गरी हालिएको बेनामे उजुरीमा यस्तो कार्यले सुशासनमा असर गर्ने भन्दै यथाशीघ्र छानबिन गरी कारबाहीको माग गरिएको छ ।