काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुनआउने एक अर्ब १० करोड रुपैयाँबराबरको बीओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाबीच यही चैत दुई गते बुधबार हस्ताक्षर भएको हो ।
बैंकका अनुसार उक्त ऋणपत्रको अवधि सात वर्ष रहेको र ब्याजदर १० दशमलव ५० प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । काठमाडौंको कमलपोखरीस्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू लिमिटेड कम्पनी ऐनबमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यो बैंक तत्कालीन बैंक अफ काठमाण्डू लिमिटेड तथा लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार २०७३/०३/२४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी ‘क’ वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ ।