बेथ टिमिन्स, किभमा रहेको रेष्टुराँ मिल्क बारले एउटा खानाको १२ पाउन्ड स्टर्लिङ लिन्थ्यो । अहिले यसले दैनिक पाँच सय खाना विना पैसा बनाइरहेको छ । युक्रेनी राजधानीमा रहेका नागरिकहरुलाई खुवाएर मद्दत गर्न उसले यसो गरेको हो । यो रेष्टुराँले फेब्रुअरीयता आफ्ना कर्मचारीलाई तलब पनि दिन सकेको छैन । तर यहाँ अझै २० जना मानिसले काम भने गरिरहेकै छन् । ‘अहिलेलाई हामी सबै यहाँ मानिस र समुदायबारे मात्रै सोचिरहेका छौँ’, बेकरी मालिक एना कोजाचेन्कोले भनिन् ।
रुसी आक्रमण सुरु भएयता युक्रेनीहरुलाई सहयोग गर्ने यहाँ एउटामात्रै खाद्य व्यवसाय छ । ‘म अहिले घाटाबारे केही पनि सोचिरहेको छैन’, उनले भनिन् । यहाँ काम गरिरहेकाहरु समयमै खाना डेलिभर गर्न चाँडो चाँडो तयार गरिसक्छन् । यी खाना वृद्धावस्था र आक्रमण भएका किभ बाहिरका स्थानबाट आएकाहरुलाई दिइन्छ ।

ठूला खाद्य आपूर्तिकर्ताहरुले रेष्टुराँहरुलाई विना पैसा खाना उपलब्ध गराउँछन् र अहिलेसम्म गराइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जग्गा धनीले पनि रेष्टुराँको भाडा अहिले लिएका छैनन् ।
मिल्क बार चार सय ५० रेष्टराँमध्येको एक हो जसले रुसी आक्रमणयता आवश्यक परेका सबैलाई खाना बाँडिरहेको छ । खासगरी बंकरमा बसेका, घर छाड्न नसकेका र अग्रपंक्तिमा युद्धमोर्चामा रहेकालाई यसरी खाना दिइएको छ । १४ वटा रेष्टुराँ भएको अर्को ठूलो क्याटरिङ कम्पनी लाफामिग्लिया ग्रुपले पनि अहिले शेल्टर, खाना र मेडिकल सामग्री आपूर्तिमा ध्यान केन्द्रित गरेको छ । गत वर्ष बिक्रीबाट दशौँ लाख अमेरिकी डलर आर्जन गरेको उसले आठ हजारभन्दा धेरै स्न्याक्स र स्यान्डविच, पाँच हजार बढी तात्तातो खाना हरेक दिन निःशुल्क बाँड्दै आएको छ ।
यसका मालिक मिखाइल बेलिनले आपूर्तिकर्ताहरुले धेरै खाना निःशुल्क र बाँकी पनि फाइदा नराखी बिक्री गरिरहेको बताए । रेष्टुराँले आफ्नै खर्च व्यहोरेर थप लागत टारिरहेको छ । उनले चाँडै आपूर्ति गर्ने सामान सकिनसक्नेमा चिन्ता व्यक्त गरे । ‘अहिलेसम्म त माग धान्न सकेका छौँ, सानो परिमाणमा भए पनि वस्तु सञ्चित गर्न सकेका छौँ’, बेलिनले भने, ‘हाम्रा सेफहरु सैन्य क्षेत्रको बीचमा रहेर पनि खाना दिइरहेका छन् ।’ अहिलेलाई पैसा, नाफा र मार्जिनको चिन्ता गर्ने समय नभएको उनको भनाइ छ ।

यता पिजेरियाका मालिक रुस्लान बुरियाकका ६० स्वयंसेवकहरुले उनको भान्सामा तत्काल खाना तयार गरिरहेका छन् । मध्यपूर्वी सहर दिनिप्रोमा यो रेष्टुराँ रहेको छ । जहाँ गत हप्ता मात्रै रुसी हवाइ हमलाको पहिलो निशाना लक्षित गरिएको थियो । यसले हरेक दिन एक हजारजति खाना तयार गरिरहेको छ । यो सबै स्थानीय मानिसलाई दिइएको छ । यहाँ निःशुल्क पास्ता, तेल र मासु स्थानीय किसानले उपलब्ध गराइरहेका छन् । मिल्क बारले जस्तै बुरियाकले पनि वृद्धावस्थाका र घर छाड्न नसक्नेलाई खाना दिएर सहयोग गरिरहेका छन् ।
युक्रेनको ठूलो खाना उत्पादकमध्ये एक एमएचपी जसले गहुँ उत्पादन र वितरण गर्छ, उसले पनि रेष्टुराँहरुलाई सहयोग गरिरहेको छ । बेलिनका चेन समेत यसको सहयोग लिइरहेका छन् । यसले युक्रेनभर ३० हजार बढीलाई रोजगारी दिएको छ । देशभरबाट अलग्गिएका समुदायलाई यसले खानाको प्रबन्ध गरिरहेको छ । तर आक्रमण नसकिँदा आपूर्तिमा समस्या आउनसक्ने भन्दै चिन्ता पनि उत्तिकै बढिरहेको छ । युक्रेनका पश्चिमी क्षेत्रमा एमएचपीको व्यवसाय छ । गेडागुडी उत्पादन आक्रमणले असर गरे आपूर्तिमा त्यसको सिधा असर पर्ने विश्लेषकहरुको चिन्ता छ । बीबीसीबाट भावानुदित