काठमाडौं । ललितपुरको पुल्चोकस्थित लालीगुराँस बुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले विभिन्न सहायक कम्पनीहरुबाट करोडौँ राजस्व छली गर्ने गरेको तथ्य फेला परेको छ । भण्डारीले ऋण अपचलन र राजस्व छली गर्नकै लागि दर्जनौँ कम्पनी खडा गरेको पाइएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रिसा इन्भेष्टमेन्ट, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस प्रोफेसनल लर्निङ सेन्टर, स्वागत इन्भेष्टमेन्टलगायत दर्जनौँ कम्पनीबाट करोडौँ राजस्व छली गरेको भेटिएको छ ।
‘एउटा कम्पनीले ८० लाखको सम्पत्ति किर्ते मूल्यांकनको आधारमा लिलाम सकार गरेको देखिन्छ । तर, सोही कम्पनीले जम्मा दुई लाख रुपैयाँ मात्रै कारोबार भएको झूटो विवरण बुझाएर लाखौँ रुपैयाँ कर छली गरिएको छ’, सहकारी सम्बद्ध स्रोतले आर्थिक दैनिकसँग भन्यो, ‘अधिकांश कम्पनीले शंकास्पद धन्दा गरिरहेका छन् ।’
सहकारीका ऋणीहरुलाई २१ प्रतिशत ब्याज र २० प्रतिशत पेनाल्टीको नाममा लगाइएको मिटर ब्याज तिर्न नसक्नेहरुको यी विभिन्न कम्पनीमार्फत सम्पत्ति लिलाम गरी सकार गर्ने गरिएको छ । यस्ता भूमिगत कम्पनीहरुले सहकारीबाट करोडौँ ऋण समेत अपचलन गरेका छन् ।
‘मास्टर लिस्ट अफ लोन’अनुसार भण्डारीकी श्रीमतीको स्वामित्व रहेको प्रिसा इन्भेष्टमेन्टलाई सन् २०१३ र १४ मा चार करोड ७८ लाख र ७१ लाख ५० हजार गरी पाँच करोड ४९ लाख ५० हजार ऋण दिइएको देखिन्छ ।
ललितपुरको जावलाखेल–४ ठेगाना देखाइएको उक्त कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयमा रियल स्टेट र घर भाडासम्बन्धी काम गर्ने’ शीर्षकमा अनुमति लिएको देखिन्छ ।
चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर १२ कमरोजमा २०७० देखि सुरु भएको गाई फार्ममा १९ बिघा जग्गा खरिद गरिएको थियो । खरिद गर्दा प्रिसा इन्भेष्टमेन्टले नै गरेको थियो । उक्त जग्गा सहकारीले भने भाडामा लिएको पाइएको छ । तर, डेरी फार्मले भने विभिन्न शीर्षकमा सहकारीबाट करोडौँ रकम ऋण लिएको छ । यो जग्गा खरिदमा पनि करोडौँ राजस्व छली भएको स्रोतले जनाएको छ ।
यी कम्पनीहरुले ऋणीको सम्पत्ति केही समय सकार गर्ने र केही समय राखेर फेरि बिक्री गर्ने गरिएको छ । ‘प्रिसाले सस्तोमा घर जग्गा र सम्पत्तिहरु सकार्ने गरिन्छ । केही समय राखेपछि फेरि महंगोमा बेच्ने गरिन्छ’, सहकारीकै उच्च अधिकारी भन्छन्, ‘धेरै मानिसहरुको घरजग्गा यसरी नै लिलामी गरिएको छ ।
प्रसिद्ध गायक रामकृष्ण ढकालको घर पनि यसरी नै लिलामीको नाटक गरिएको छ । घरमा सुरेन्द्र भण्डारीकै दाइको परिवार बस्दै आएका थिए । तर, सहकारीले सकार गरेको उक्त घर प्रयोग गरेबापत भण्डारीको दाइले हालसम्म एक पैसा पनि भाडा बुझाएका छैनन् ।’
उनले आफ्नै स्वामित्वमा रहेको विभिन्न कम्पनीको नाममा करोडौँ ऋण अपचलन गरेको पाइएको छ । लालीगुराँसकै ब्रान्ड नेमबाट सञ्चालित कम्पनी, फाउन्डेसन र हस्पिटलमार्फत करोडौँ ऋण निकाल्ने गरेको तथ्य सार्वजनिक भइसकेको छ । लालीगुराँस समूहकै लगानी रहेको श्री लालीगुराँस एजुकेसन फाउन्डेसन, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस जनस्वास्थ्यलगायत दर्जनौँ कम्पनीमा सहकारीले करोडौँ ऋण प्रवाह गरेको पाइएको छ ।
स्टेटमेन्ट अनुसार सन् २०१४ डिसेम्बर १० मा श्री लालीगुराँस एजुकेसन फाउन्डेसनको नाममा ४५ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । त्यस्तै सोही दिन सोही एजुकेसन फाउन्डेसनको नाममा अर्को ५२ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ ।
फाउन्डेसनकै नाममा सोही दिन ७१ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । एकै दिन फाउन्डेसनको नाममा कुल एक करोड ६८ लाख ऋण दिएको देखिएको छ । सन् २०१५ अक्टोबर ९ मा सोही एजुकेसन फाउन्डेसनको नाममा अर्को ५० लाख ऋण प्रवाह भएको देखिएको छ । सन् २०१७ अप्रिल २० मा फाउन्डेसनकै नाममा दुईपटक गरी दुई करोड ८० लाख रुपैयाँ निकालिएको छ ।
सन् २०१६ अक्टोबर २ मा फाउन्डेसनले ५५ लाख आठ हजार सात सय १६ रुपैयाँ ऋण लिएको देखिन्छ । सन् २०१६ जुलाई १५ मा श्री लालीगुराँस प्रोफेसनलको नाममा ४७ लाख रुपैयाँ सहकारीबाट ऋण लिएको देखिन्छ । सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीसहितको स्वामित्वमा स्थापना भएको उक्त फाउन्डेसनले नयाँ बानेश्वरस्थित शंखमूल चोकमा लालीगुराँस मावि सञ्चालन गरेको छ ।
नाफामुखी कलेजमा सर्वसाधारणको लगानी भएको सहकारीबाट करोडौँ रकम लगानी गरेर भण्डारीको समूहले एकतर्फी फाइदा लिइरहेको छ ।
राजस्व छल्ने र ऋणीको कम्पनी हत्याउने मुख्य कम्पनीको कथा
ललितपुरकै भनिमण्डलमा कार्यालय रहेको जया लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको काम जग्गा दलाली धन्दा हो । यही कम्पनीमार्फत धेरै राजस्व छली भएको स्रोतको दाबी छ ।
सो कम्पनीका मुख्य लगानीकर्ता नै सुरेन्द्र भण्डारी हुन् । त्यति मात्रै होइन यो कम्पनीको नाममा समेत करोडौँ ऋण अपचलन भएको छ । स्टेटमेन्ट अनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनीको नाममा लालीगुराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रालिको नाममा ९५ लाख रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ ।
राजस्व छल्नकै लागि कीर्ते मूल्यांकन !
ललितपुरकै स्थानीयवासी केशव पुरीको श्री लालीगुराँस सहकारीले आफ्नै सहायक कम्पनी जय लालीगुराँस इन्भेष्टमेन्टमार्फत अन्डर भ्यालुएसन गरेर करोडौँको सम्पत्ति कौडीको भाउमा हत्याएको थियो । पुरीसहित उनका साझेदारहरुले २०६७ असारमा ललितपुर महानगरपालिका वडा नम्बर ७ नख्खुको जग्गा खरिद गरेको थियो । उनीहरुले कित्ता नम्बर ८५, ११७, ८७, ९३, ९५, १०१, १०२ र ८८ नम्बरको ४ रोपनी ७ आना ३ पैसा जग्गा खरिद गरे ।
लालीगुँरास सहकारीबाट दुई करोड २० लाख ऋण लिइएको थियो । तर केशव पुरीको भागमा ९० लाख मात्रै ऋण थियो । ऋण लिएको एक वर्षसम्म उनीहरुले सहकारीलाई ब्याज बुझाइरहेका थिए ।
उनको नामको सोही जग्गा सहकारीले २०७० माघमा अन्डर भ्यालुएसन गरेर सकारेको पाइएको छ । कीर्ते मूल्यांकन गरी ऋणीको सम्पत्ति हत्याएको विषयमा सीआईबीले अनुसन्धान गरे पनि राजनीतिक दबाबमा छानबिन रोकिएको थियो । पुरीको स्वामित्व रहेको उक्त जग्गा सहकारीले ७६ लाख रुपैयाँमा सकारेको छ । उक्त जग्गाको हालको मूल्यांकनमा ३० करोड रुपैयाँभन्दा माथि छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नख्खुको उक्त जग्गा सहकारीकै महिला कर्मचारी र आफ्ना आफन्तको नाममा नामसारी समेत गरेका थिए ।
त्यस्तै पुरीकै स्वामित्व रहेको ललितपुरको गोदावरीस्थित किटिनी गाविस वडा नम्बर ९ को कित्ता नम्बर १७ को ७ रोपनी ९ आना जग्गाको मूल्यांकन यतिबेला १० देखि १५ करोड छ । तर, सहकारीले भने एक करोड ६ लाख रुपैयाँमा सकारेको पाइएको थियो । गोदावरीको जग्गा भने ‘अन्डर भ्यालुएसन’ गरेर पनि सहकारीकै नाममा राखिएको छ । उक्त जग्गा जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टरले फरक फरक कित्ताको फरक फरक मूल्यांकन गरेको छ ।
आफ्नो जग्गा बिक्री भएपछि जब ऋणीले चाल पाए !
काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १० चेकपोष्ट बस्ने २८ वर्षीय सविना केसीले आफ्नो जग्गा लिलाम बिक्री भएको समेत चाल पाइनन् ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र लालीगुराँस प्रोफेशनल लर्निङ सेन्टरको मिलेमतोमा उनको जग्गा सेटिङमै हत्याइएको थियो ।
थानकोटमै रहेको १२ आना जग्गा मालपोत कार्यालय, सहकारी र लालीगुराँसकै भूमिगत कम्पनीमार्फत सेटिङमा हत्याएको भन्दै उनले जिल्ला अदालतमा मुद्दा समेत हालेकी थिइन् । तर, जिल्ला अदालतबाट आफूले न्याय नपाएको उनको गुनासो छ ।