काठमाडौं । विद्युतीय राहदानी वितरण सेवालाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूले जोड दिएका छन् । राहदानी विभाग त्रिपुरेश्वरमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरू र सम्बन्धित जिल्लाका राहदानी शाखाका कर्मचारीहरूबीच आइतबार भएको बैठकसहितको अन्तरक्रिया कार्यक्रममा उनीहरूले राहदानीको माग उच्च रहेकोले यसको सहज व्यवस्थापनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
हाल विभिन्न मुलुकहरूमा रोजगारी खुलेको, सन् २०१३ देखि २०१६ सम्म धेरै संख्यामा जारी गरिएको यन्त्रवाचक राहदानीको नवीकरण गर्ने समय भएको, विदेशमा अध्ययनका लागि सहज भएको लगायतका कारणले राहदानीको माग अत्यधिक बढेको उनीहरूको भनाइ थियो । यसको माग केही वर्षसम्म उच्च रहने आकलन गरिएकोले यसको व्यवस्थापनका लागि थप कदम चाल्नुपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विभागबाट यन्त्रवाचक राहदानीको तुलनामा आवेदकको संख्या दोब्वर गरिएको तर कर्मचारीको अभाव, प्राविधिक उपकरण आदिजस्ता कारणले सोभन्दा बढी विभागबाट लाइभ इनरोलमेन्ट गर्न कठिन हुने देखिएको बताए । यसको विकल्पमा जिल्ला प्रशासन कार्यालयहरूबाट उत्पादन बढाई वितरण प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
यस्तै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले आवश्यकताअनुसार कर्मचारीहरूको अभाव भएकाले धेरै संख्यामा राहदानीको निवेदन संकलन अर्थात् लाइभ इनरोलमेन्ट हुन कठिन भएको बताए । त्यस्तै ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले पनि कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या भएको तर पनि गत हप्तादेखि निवेदनको संख्या दोब्बर गरिएको जानकारी दिए । भक्तपुरका प्रजिअ रुद्रादेवी शर्माले कर्मचारीको कमीले मागअनुसारको सेवा दिन कठिनाइ भएको र समय समयमा आउने प्राविधिक समस्यालाई समाधान गर्दै सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरिन् । काभ्रेपलाञ्चोकका प्रजिअ हुमकला पाण्डेले केही प्राविधिक समस्याका बाबजुद पनि हाल उत्पादनको संख्या बढाइएको र कार्यालय समय अघिपछि पनि सेवा प्रवाह गर्ने गरिएको जानकारी गराएकी थिइन् ।
साथै बैठकले राहदानी वितरण सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोकमा तयारी भएका राहदानी हप्ताको दुई पटक विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा वितरणका लागि उपलब्ध गराउने व्यवस्था गर्ने, विभागले सबै नियोग, जिल्ला प्रशासन, इलाका प्रशासन र विभागबाट उत्पादन भएका राहदानीको विवरण साप्ताहिकरूपमा उपलब्ध गराउने, जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो बुकिङ आफैँले व्यवस्थापन गर्ने, प्राविधिक सहयोग चाहिएमा राहदानी विभागले उपलब्ध गराउने, बुकिङ फुल भएको अवस्था नगर्ने, यसको प्रत्यक्ष निगरानी प्रमुख जिल्ला अधिकारीले गर्ने साथै बुकिङ कार्यालय समयभित्र मात्र खोल्ने निर्णय गरेको छ ।
यसैगरी विद्युतीय राहदानी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रोजेक्ट बेसिसमा थप प्राविधिक जनशक्तिको शीघ्र व्यवस्थापन गर्न माग गर्ने, विभागमा २४सै घण्टा गरिएको प्राविधिक सपोर्टको व्यवस्थालाई थप प्रभावकारी बनाउने र सम्बन्धित प्राविधिक कर्मचारीहरूको नाम तथा सम्पर्क नम्बरसहितको विवरण सबै कार्यालयहरूलाई पठाउने, विभागका महानिर्देशक, निर्देशक तथा प्रमुख जिल्ला अधिकारीहरूबीच नियमितरूपमा सूचना तथा जानकारी आदानप्रदान गर्नेलगायतका निर्णय गरिएको विभागले जनाएको छ ।
हालै कोरिया, जापानलगायतका मुलुकहरूमा रोजगारी खुलेको लगायतका कारणले राहदानीको माग अत्यधिक बढेको सन्दर्भमा विभाग तथा जिल्ला प्रशासन कार्यालयहरूले निवेदनको संख्या बढाई दैनिकरूपमा वितरणको व्यवस्था गर्ने, अन्य जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा पनि निर्णयअनुसारको व्यवस्था गर्न अनुरोध गर्ने राहदानी विभागले जानकारी दिएको छ ।