महेन्द्र शाही
सोलुखुम्बु, माघ २८
सोलुखुम्बुको सोताङ गाउँपालिका ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे मेसिन सञ्चालनमा आएपछि त्यस क्षेत्रका नागरिक हर्षित भएका छन् । सामान्य बिरामी हुँदा समेत जिल्ला अस्पताल फाप्लु तथा जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएपछि त्यहाँका स्थानीय खुसी भएका हुन् । भेडियो एक्सरे र एक्सरे मेसिन सञ्चालन नहुँदा सामान्य उपचारका लागि जिल्ला अस्पताल फाप्लु, ओखलढंगाको मिसन अस्पताल र राजधानी जानुपर्ने बाध्यता थियो । तर अहिले सोताङमै एक्सरे मेसिन सञ्चालनमा आएपछि उक्त बाध्यताको अन्त्य भएको स्थानीय मौसमी खत्रीको भनाइ छ । आफूहरु अहिले गाउँमै सेवा लिन पाउँदा समय तथा पैसाको पनि बचत भएको उनको भनाइ छ ।
करिब १ वर्ष अगाडिबाट सञ्चालनमा आएको भिडियो एक्सरे मेसिन गाउँमा नै सञ्चालन भएपछि कोशीपारिका नागरिकको समय र खर्चको समेत बचत भएको छ । अब एक्सरेसँगै अन्य उपचार पनि भएको खण्डमा स्थानीयमा अझ सहजता हुने स्थानीय गोपाल बस्नेतको भनाइ छ । गाउँमा नै बिरामीले उपचार पाउँदा सामान्य रोगले पनि अप्रिय घटना घट्नबाट जोगिने स्थानीयको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सोताङ, महाकुलुङ गाउँपालिका, माप्य दूधकोशी र थुलुङ दूधकोशी गाउँपालिकाका स्थानीयहरु सेवा लिन आउने गरेका छन् । उपचारका लागि बाहिर जाँदा लाखौँ खर्च हुने भएकाले अहिले निकै सहज भएको वडा नम्बर ५ का वडा अध्यक्ष पृथ्वी बहादुर थापाको भनाइ छ । आफूहरु अझै व्यवस्थित बनाउन लागिपरेको उनको भनाइ छ । जनतालाई सहज सुविधा दिनेतर्फ जनप्रतिनिधिको ध्यान केन्द्रित रहेको उनले दाबी गरे ।
११ जनाको दरबन्दी भएको उक्त स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत एक जना अहेब, एक जना र तीन जना अनमी कार्यरत रहेका छन् । एक जना मेडिकल अधिकृत, दुई जना अनमी, तीन जना अहेब, स्टाप नर्स एक जना, हेल्थ असिस्टेन्ट एक र कार्यालय सहयोगी तीन जना गरी ११ जनाको दरबन्दी रहे पनि कर्मचारी पर्याप्त नहुँदा अनेकौँ चुनौतीका साथ हाल सेवा प्रदान गरिरहेको गाउँपालिका स्वास्थ्य संयोजक तथा प्राथमिक स्वास्थ्य केन्द्रका अहेब श्रीध्वज राईले जानकारी दिए ।
कर्मचारीको व्यवस्था हुनसक्ने हो भने अझ प्रभावकारी सेवा प्रवाह गर्न सकिने उनको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रमा महिनामा एक सयभन्दा बढीले सेवा लिने गरेको प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्ला अस्पतालसम्म आएर लिने सेवा गाउँमा नै लिन पाउँदा त्यस क्षेत्रका नागरिकहरु त हर्षित बनेका छन् तर प्राथमिक स्वास्थ्य केन्द्रमा पर्याप्त कर्मचारी नहुँदा चुनौती भने कायममै रहेको केन्द्रले जनाएको छ ।