काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तरलताको अभावले सिर्जित अर्थतन्त्रको समस्या समाधान गर्न समग्र निजी क्षेत्रको समान धारणा हुनुपर्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उनले हाल मुलुकमा तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा ह्रास आएको बताए ।
यस जटिल अवस्थामा समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अगाडि बढ्नुपर्ने र कृषि क्षेत्रलाई उद्यमको रुपमा प्राथमिकतामा राख्नुपर्ने बताए । अध्यक्ष मल्लले वीरगञ्ज प्रमुख औद्योगिक नगर भएकोले निर्यात गृहको अवधारणामा निर्यात प्रवर्द्धनको लागि अग्रसर हुनुपर्ने बताउँदै यसमा चेम्बर सहकार्य गर्न तयार रहेको समेत उल्लेख गरे । बढ्दो व्यापारघाटालाई पूर्ति गर्न कृषिको उत्पादकत्वमा जोड दिनुपर्ने र यसको लागि कृषि क्षेत्रको व्यवसायीकरण तथा उत्पादकत्वमा वृद्धि गर्न जिल्लास्थित उद्योग वाणिज्य संघको पनि महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
छलफलमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले व्यवसायीहरु जुनसुकै क्षेत्रका भए पनि उद्योगीहरुका चुनौतीहरु साझा रहेको बताए । डा. गुप्ताले सामाजिक सुरक्षा र श्रम नीतिले व्यवसायीहरु मारमा परेको उल्लेख गरे । मजदुरहरुको मात्र भलाइ हेरिँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ । भीसीटीएस प्रभावकारी कार्यान्वयन हुन नसकिरहेकोले साना व्यवसायी मारमा परेको उनले बताए । नेपालको पारवहनको लागि भारतका सबै बन्दरगाहहरुबाट नेपालमा माल सामान ल्याउन खुला हुन आवश्यक रहेको उनको भनाइ थियो ।
पर्यटन क्षेत्रमा भारतीय पर्यटकको ठूलो योगदानले भारतीय पर्यटकहरु नेपाल आगमनमा वृद्धि गर्न भारु २५ हजार मात्र बोक्न पाउने, भारतीय ठूला नोटहरु नचल्ने, डेबिट क्रेडिट कार्ड भर पर्दो नरहेको कारणले असहज रहेको बताए । छलफलमा चेम्बरका उपाध्यक्ष दीपक श्रेष्ठ तथा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय माधव राजपाल र हरि गौतम, महासचिव मनोज कुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द गोयललगायतको उपस्थिति थियो ।