बेइजिङ । चीनमा एक सय ३२ जना मानिस बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । दक्षिणी चीनको पर्वतीय जंगल क्षेत्रमा चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७–८०० विमान गुआङसी प्रान्तमा खसेको हो । खसेलगत्तै विमानमा आगलागी भएको थियो । उक्त विमान कुनमिङबाट ग्वान्झाउतिर गइरहेको थियो । पर्वतीय क्षेत्रमा दुर्घटनाग्रस्त विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । हताहतीबारे एकीन तथ्यांक सार्वजनिक भइसकेको छैन ।
चिनियाँ एयरलाइन्सहरु साधारणतया निकै सुरक्षित मानिँदै आएका छन् । हवाइ दुर्घटना यसअघि १२ वर्ष पहिले मात्र भएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएका छन् । चाइना इस्टर्न एयरलाइन्सले ७३७ शृंखलाका बोइङ विमानहरु सबै ग्राउन्डेड गरेको बताइएको छ । दुर्घटनामा पर्नुअघि विमान धेरै उचाइमा रहे पनि लगातार तल तल खसेको उडान ट्र्याकिङ डेटाले देखाएको एजेन्सीहरुले जनाएका छन् । दुर्घटनास्थलमा तत्कालै छ सय आकस्मिक उद्धारकर्ताहरु खटिएको बताइएको छ ।