काठमाडौं, माघ २८
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारणसभाको अवसर पारेर सीईओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहबीच उपराष्ट्रपति नन्दकिशोर पुनले खुञ्जेलीलाई अवार्ड प्रदान गरेका थिए । ‘क’ वर्गको वाणिज्य बैंकको सीईओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुुन् । उत्कृष्ट महिला व्यवस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सीईओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरिन् ।
यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहक, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उनले बताइन् । खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । नौ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी हुुन् । उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो वर्ष बैंक अफ दि इयरजस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।