काठमाडौं । बीमा समितिले बीमा सर्भेयर र बीमाअभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सुरु गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालयमा बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीरकण गर्ने कार्यको सुरुवात गरेका हुन् ।
उक्त कार्यक्रममा अध्यक्ष सिलवालले देशका विभिन्न स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले अब आफू रहेकै स्थानबाट डिजिटल माध्यमबाट आफ्नो इजाजतपत्रको नवीकरण गर्न पाउने अवसर उपलब्ध भएको बताए । अध्यक्ष सिलवालले देशका पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म छरिएर रहेका झण्डै तीन लाखको संख्यामा रहेका बीमा अभिकर्ताले डिजिटल माध्यमबाट नै इजाजतपत्र नवीकरण गर्न पाउने भएबाट बीमाको पहुँच विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू सुशीलदेव सुवेदी र दिनेश कुमार लाल उपस्थित रहेका थिए । कार्यक्रममा समितिका निर्देशक कमल प्रसाद रेग्मीले इजाजतपत्रको डिजिटल नवीकरणका बारेमा चर्चा गरेका थिए भने कार्यक्रम सञ्चालन समितिका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले गरेका थिए । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)को कनेक्ट आईपीएसमार्फत डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने दस्तुर बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्नसक्ने व्यवस्था गरेको समितिले जानकारी दिएको छ ।
त्यसका लागि बीमा सर्भेयर र बीमा अभिकर्ताले कनेक्ट आईपीएसको साइटमा गएर सेमी गभरमेन्टमा रहेको बीमा समितिको लोगोमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नवीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टममा ले नै क्याल्कुलेट गरेर दिन्छ । तत्पश्चात् अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ र त्यसरी बुझाएको रकमको रसिद पीडीएफ फर्म्याटमा प्रिन्ट गर्न सकिनेछ ।
संस्थागत बीमा सर्भेयरले कनेक्ट आईपीएसमार्फत बीमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरणअघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नवीकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने कनेक्ट आईपीएसमार्फत नवीकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नवीकरण हुनेछ ।
यसैगरी, संस्थागत बीमा अभिकर्ताले पनि कनेक्ट आईपीएसमार्फत बीमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा संस्था नवीकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नवीकरणअघिका कामको विवरण पठाएपछि इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नबीकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ । त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टमा जान्छ र त्यहाँबाट अनलाइन प्रणालीबाटै सिफारिस भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नवीकरण हुने व्यवस्था गरिएको छ ।
नवीकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेबसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइप गरेपछि जानकारी प्राप्त गर्न सक्नेछन् । अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको सुरुवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नवीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाट नै इजाजतपत्र नवीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।
हाल देशभरमा गरी नवीकरणयोग्य बीमा सर्भेयरको संख्या करिब एक हजार दुई सय ५० र बीमा अभिकर्ताको संख्या करिब तीन लाख रहेको छ । समितिका अनुसार डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण गर्नको लागि बीमा सर्भेयर र बीमा अभिकर्ताहरूले कनेक्ट आईपीएस लगइन गर्नुपर्नेछ । त्यसपछि पेमेन्ट ट्यावको सेमिगर्भरमेन्ट ट्याबमा क्लिक गर्ने र त्यसपछि बीमा समितिको लोगो भएको ट्याबमा क्लिक गर्नुपर्नेछ । त्यसपछि एजेन्ट वा सर्भेयर कुन हो सो ट्याबमा क्लिन गर्ने र अन्य अन्य मागेका आफ्ना विवरणहरू सबमिट गर्नुपर्ने समितीले जानकारी दिएको छ ।