काठमाडौं । महिला र युवाहरूमा क्यूआर कोड र डिजिटल उत्पादनहरू प्रवर्द्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)सँग सम्झौता गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक कार्यक्रमबीच नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र टेवानको तर्फबाट अध्यक्ष रेनु थापाले साझेदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानहरूमार्फत महिलाहरूलाई पर्यटन उद्यमहरू सञ्चालन गर्न तथा डिजिटल माध्यमहरूको प्रवर्द्धन गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले यस सहकार्य महत्वपूर्ण हुने बताउँदै यसले महिला व्यवसायीलाई डिजिटल बैंकिङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकास गर्नमा कोसेढुंगा साबित हुने बताए ।
त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिँदै महिला व्यवसायीको प्रवर्द्धनमा बैंकसँग हातेमालो गर्दै सँगै अघि बढ्ने बताए । कार्यक्रममा केही महिला उद्यमीलाई नबिल क्यूआर कोड पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जाप्रमुख निरज कुमार बस्नेत (डनिल), दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख कृष्ण सुवेदी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोकाको उपस्थिति थियो ।
टेवान पर्यटन व्यवसायमा संलग्न सबै सक्रिय महिला उद्यमीहरूलाई समूहबद्ध गर्ने र पर्यटन विकासको लागि लैंगिक समानता र महिला सशक्तीकरणलाई संस्थागत गर्न मद्दत गर्ने एक गैरनाफामूलक सार्वजनिक सामाजिक संस्था हो जसमा कास्की जिल्लाका विभिन्न पर्यटन क्षेत्रका दुई सयभन्दा बढी महिला उद्यमी आबद्ध रहेका छन् ।
नबिल बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर–कोड : महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजनाअन्तर्गत बैंकले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ र यस परियोजनाअन्तर्गत बैंकले देशभर कम्तीमा सातवटा (एउटा प्रदेशमा न्यूनतम एउटा) वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।