नयाँ दिल्ली । भारतीय हवाइ नियामकहरुले देशमा रहेका बोइङ ७३७ विमानहरुलाई निगरानीमा राखेका छन् । चीनमा सोमबार एउटा विमान दुर्घटनापछि भारतीय नियामकले निगरानी बढाएको बीबीसीले जनाएको छ ।
नियामकीय टोलीले ती शृंखलाका बोइङ विमानमाथि उडान अनुगमन तथा सञ्चालनबारे अध्ययन गर्न समूह खटाएको छ । सोमबार चिनियाँ इस्टर्न एयरलाइन्सको ७३७–८०० विमान दक्षिण चीनमा दुर्घटना भएको थियो । हताहतीबारे सूचना सार्वजनिक नभए पनि त्यसमा एक सय ३२ जना मानिस यात्रारत रहेको खुलेको छ ।
दुर्घटनाको कारण समेत अहिलेसम्म खुलिसकेको छैनन । उक्त विमान कुनमिङबाट गुआङसी जाँदै गर्दा दुर्घटनामा परेको थियो । सो लगत्तै चिनियाँ एयरलाइन्सले ७३७–८०० शृंखलाका सबै विमानलाई ग्राउन्डेड गरेको छ ।
भारतीय हवाइ संघ निर्देशनालयका प्रमुख महानिर्देशक अरुण कुमारले उडान सुरक्षालाई प्राथमिकतामा राखेको र पछिल्लो अवस्थाका सूक्ष्म मूल्यांकन गरिरहेको जानकारी दिए । हाललाई ७३७ उडानलाई निगरानीमा राखिएको पनि उनले बताएका छन् । अमेरिकी विमान उत्पादक बोइङले चीनमा जारी अनुसन्धानलाई सहयोग गरिरहेको र अमेरिकी राष्ट्रिय यात्रा सुरक्षा बोर्डसँग पनि सम्पर्कमा रहेको बताएको छ ।
बोइङका प्रमुख कार्यकारी डेभिड कलहनले आफ्ना ग्राहक तथा नियामकीय अधिकारीसँग दुर्घटनायता सम्पर्क गरिरहेको बताउँदै कम्पनीको प्राविधिक विज्ञहरुले अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताए । उनले आफ्ना ग्राहकलाई सक्नेजति सहयोग गर्ने पनि बताएका छन् । हवाइ विश्लेषक कम्पनी करियमका अनुसार अहिले ७३७–८०० यात्रुवाहक जहाज चार हजार दुई सय आठवटा सञ्चालनमा रहेका छन् । त्यसको एक भाग बढी चीनमा रहेको छ । यो शृंखलाका विमानहरु सन् १९९० को दशकको अन्त्यतिर सर्वप्रथम उत्पादन गरिएको थियो भने यसको सुरक्षा अवस्था पनि बलियो रहँदै आएको थियो । सोमबार दुर्घटना भएको विमान केवल सात वर्ष पुरानो रहेको बताइएको छ ।
अनुसन्धाताहरुले दुर्घटना के कारणले भयो भन्ने पहिल्याउन सकेका छैनन् । उनीहरुले विमानको ब्ल्याकबक्स खोजिरहेको बताइएको छ । योसँगै बल्ल बल्ल यसअघिका दुई दुर्घटनाबाट बौरिनलागेको बोइङलाई थप धक्का लागेको छ । इथियोपिया र इन्डोनेसियामा बोइङका ७३७ म्याक्सजेट विमान दुर्घटनामा पर्दा तीन सय ४६ यात्रुले ज्यान गुमाएका थिए । योसँगै विश्वभर यो शृंखलाका सबै विमान वर्ष लामो समय ग्राउन्डेड गरिएका थिए । सोमबार दुर्घटनापछि बोइङको सेयर ३.५ प्रतिशतले ओरालो लागेको थियो ।