काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगाले ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी हुन् । सिंगापुरस्थित वर्ल्ड बिजनेस आउटलुकका अनुसार सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत नेपालको विभिन्न सामाजिक क्षेत्रमा मेगा बैंकले उत्कृष्ट योगदान गरेबापत ‘बेष्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड, २०२२’ प्रदान गरिएको हो ।
स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक वर्ष एक करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको थियो भने यस वर्ष संघीय, प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बालकक्षको सुधार उपचारार्थ खर्च गर्ने नीति लिएको छ ।
शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पु-याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा एकदेखि १२ सम्म अध्ययनरत तीन सय ९० जना छात्राहरूलाई वार्षिकरूपमा ४३ लाख रकमबराबरको छात्रवृत्ति उपलब्ध गराएको छ । यो छात्रवृत्तिले शाखा सञ्चालित वडा–पालिकामा मेगा बैंकलाई जनताको बैंकको रूपमा स्थापित गरेको छ भने मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशीला बनेको थियो ।
यसैगरी, नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सीईओको इतिहास बनाएकी सीईओ अनुपमा खुञ्जेलीलाई मेगा बैंकको सफल नेतृत्व गरी नेपालको बैंकिङ क्षेत्रमा अतुलनीय योगदान गरेबापत ‘वुमन बैंकिङ सीईओ अफ दि एयर अवार्ड, २०२२’ प्रदान गरिएको वर्ल्ड बिजनेस आउटलुकले जनाएको छ ।
नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीईओ खुञ्जेली मात्रै हुन् । सीईओ खुञ्जेलीले यसैवर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । सन् १९९१ मा तत्कालीन ग्रीनलेज बैंक अर्थात् अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि सीईओ खुञ्जेलीले गौरवान्वित महसुस गरेको बताइन् । यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण सेयरधनी, ग्राहकवर्गहरू, कर्मचारी एवं समस्त सरोकारवालाहरूमा जाने सीईओ खुञ्जेलीले बताइन् । दुई सय चारवटा शाखा सञ्जाल रहेको मेगा बैंक स्थापनाको एक दशकमै नेपालको स्थापित बैंकको रूपमा अग्रपंक्तिमा रहेको छ ।