काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई प्रतीक्षालय निर्माण गरिदिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको बझाङ शाखाले जालपा माध्मिक विद्यालयलाई प्रतीक्षालय निर्माण गरेर हस्तान्तरण गरेको हो । जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक विशेष कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तमबहादुर मल्ललाई प्रतीक्षालय निर्माणपछि हस्तान्तरण गरिएको बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिएका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई घामपानीबाट बच्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले प्रतीक्षालय निर्माण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रूपान्तरणमा विभिन्न कार्यक्रमहरू गरी उदाहरणीय कार्य गर्दै आएकोमा महालक्ष्मी विकास बैंकलाई धन्यवादज्ञापन गरे । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।