वासिङटन् । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई घोषणा गरेको सैन्य सहायताको पहिलो हस्तान्तरण गरेको छ । सीएनएनका अनुसार ८० करोड डलरको सहायताको पहिलो डेलिभरी गरिएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई हरतरहको सहयोग दिने घोषाणा गरेका थिए । पहिलो चरणमा हस्तान्तरण गरिएको सहायताा युक्रेनले बुझिरहेको अमेरिका सरकारले बताएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गर्दै गत हप्ता सहयोगको अपिल गरेका थिए । सोही अपिलपछि अमेरिकाले सैन्य सहायता दिने बताएको थियो ।
बाँकी सहायता सामग्री पनि चाँडै युक्रेनलाई हस्तान्तरण गरिने अमेरिकाले जनाएको छ । यसमा आठ सयवटा स्टिन्जर लडाकु जहाज प्रतिरोधी प्रणाली र सय आक्रमणकारी ड्रोनहरु रहेका छन् । यी दुवै सामग्री रुसी सेनाविरुद्ध लडिरहेको युक्रेनका लागि निकै महत्वपूर्ण साबित हुनेछ ।
यसअघि अमेरिकाले मार्च १२ मा घोषणाा गरेको २० करोड डलरको सहायता प्याकेजअन्तर्गत सबैजसो सहायता हस्तान्तरण गरिसकेको छ । यसमा पनि स्टिन्जर एन्टि एयर सिस्टम र धेरैजसो ज्याभलिन एन्टि आर्मर मिसाइलहरु रहेका थिए । बाँकी सामग्री फेरि छिट्टै हस्तान्तरण गरिने अमेरिकी सरकारले जनाएको छ ।