काठमाडौं । बीमा कम्पनीहरुले हाल कायम रहेको चक्ता पुँजी दोब्बरभन्दा बढीले चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको अध्यक्षतामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी वृद्धिसम्बन्धी निर्णय गरेसँगै बीमा कम्पनीहरुले हाल कायम रहेको चुक्ता पुँजीमा अब झण्डै दोब्बरभन्दा बढीले वृद्धि गर्नुपर्ने भएको हो ।
समितिको निर्णयअनुसार जीवन बीमा कम्पनीहरुले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब रुपैयाँलाई वृद्धि गरी पाँच अर्ब रुपैयाँ कायम गर्नुपर्नेछ भने निर्जीवन बीमा कम्पनीहरुले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँलाई वृद्धि गरी दुई अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्नेछ । न्यूनतम चुक्ता पुँजी कायम गरिसक्नुपर्ने समयसीमा भने २०७९ चैत मसान्तसम्म तोकिएको छ ।
नेपाली बीमा क्षेत्रमा हाल १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुईवटा पुनर्बीमा कम्पनीसहितका ४१ वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । समितिका अनुसार बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एक अर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त समयमा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएको सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुने गरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको हो ।
समितिका अनुसार तोकिएको समयसीमासम्म चुक्ता पुँजी कायम गरिसक्नुपर्ने र तोकिएको समयमा चुक्ता पुँजी पु¥याउन नसक्ने कम्पनीहरुलाई भने बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०७६ बमोजिम हुने गरी पुँजी वृद्धि गर्नुपर्नेछ । यसैगरी विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेका बीमकले बीमक दर्ता तथा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयभित्र न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार बीमा कम्पनीहरुले अबको ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट स्वीकृत गराई समितिसमक्ष पेश गरिसक्नुपर्नेछ ।
