काठमाडौं । प्रदेश १ को राजधानी विराटनगरमा केही समय मथ्थर भएको अवैध हुन्डीको कारोबार फेरि मौलाएको छ । केही वर्षअगाडि हुन्डी कारोबारी अनुपचन्द्र सेठिया र उनका भतिजा ललित सेठिया पक्राउ परेसँगै हुन्डीको कारोबार बन्दजस्तै अवस्थामा पुगेको थियो । तर फेरि पछिल्लो समय यसको कारोबार बढ्न थालेको छ ।
सरकारले अवैध भनी प्रतिबन्ध लगाइएको हुन्डी व्यापारमा पछिल्लो समय सानादेखि ठूला व्यावसायिक घरानाका प्रतिष्ठित व्यक्ति समेत संलग्न रहेको स्रोतको दाबी छ । अहिले बजारमा पुराना हुन्डीका कारोबारी बिस्तारै पलायन भएका छन् भने उनीहरूको पलायनसँगै हुन्डीको कारोबारमा नयाँ अनुहार थपिएका छन् । विराटनगरमा समयअनुकूल चाइनीज सामानको आयात गरेर सामान्य व्यापार गर्दै आएका ओम दुगढको समूह आयात व्यापारलाई पन्छाउँदै अहिले हुन्डीको कारोबारमा सक्रिय भएको स्रोतको दाबी छ । आयात व्यापारबाट अपेक्षित मुनाफा हुन नसकेपछि यो समूूह हुन्डी कारोबारमा सक्रिय भएको हो । समूहले विराटनगरमा आफ्नो हुन्डीको सञ्जाल नै बनाएको दाबी गर्न थालिएको छ । ओम दुगढसँगै उनका छोरा दर्शन दुगढ पछिल्लो समय हुन्डीको कारोबारमा अग्रपङ्क्तिमा रहेका छन् ।
यो समूहले विराटनगरको मेनरोडमा नै निर्बाधरूपले कार्यालय सञ्चालन नै गरेर कारोबार गरिरहेको छ । स्रोतका अनुसार यो समूहले कर्मचारी समेत राखेर अवैध हुन्डी कारोबारलाई निर्बाधरूपमा सञ्चालन गरेको हो । विराटनगर औद्योगिक एवं व्यावसायिक क्षेत्र भएकाले हुन्डी कारोबारीहरूको लागि उर्वर भूमि भएको बताइन्छ । यो समूहले पछिल्लो समय हुन्डीको कारोबार थालेपछि हाल चाइनीज सामानको कारोबार नै छाडेको छ ।
यो समूहसँग विराटनगर भन्सारमा भन्सार एजेन्टका रूपमा कार्यरत एक विवादित भन्सार एजेन्ट समेतको संलग्नता रहेको स्रोतको दाबी छ । यो समूह अवैध हुन्डीको कारोबारमा प्रवेश गरेसँगै हुन्डीको सञ्जाल पछिल्लो समय विराटनगरमा व्यापक बढेको हो । साथै विराटनगर हुन्डी कारोबारीका लागि सुरक्षित स्थल भएको पनि बताउन थालिएको छ ।