काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । महानगरको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिहीनहरूलाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बिहीबार एक कार्यक्रमका बीच लालपुर्जा वितरण गरेकी हुन् ।
कार्यक्रममा मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लालपुर्जा दिने कामलाई मन्न्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन् । उनले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडि बढाइएको भन्दै देशभित्र रहेका जग्गासम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडि बढ्न लागेको उल्लेख गरिन् । वास्तविक सुकुमबासीले मात्रै जग्गा पाउन र गैरसुकुमबासीले जग्गा नपाऊन् भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरूलाई मन्त्री श्रेष्ठले आग्रह समेत गरिन् ।