काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय योजना आयोगलाई एकीकृत सहरी विकास कार्यक्रमका लागि थप बजेट छुट्याउन आग्रह गरेकी छिन् । बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरतासम्बन्धी छलफलमा उनले एकीकृत सहरी विकास कार्यक्रम नयाँ रहेको र यसलाई बजेटमा समावेश गरेर अघि बढ्नुपर्ने बताइन् ।
एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको बताउँदै उनले यस कार्यक्रमको लागि थप बजेट आवश्यक रहेको उल्लेख गरिन् । यस्तै उनले मन्त्रालयले बनाउन लागेको युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताइन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले सहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै पौडेलले सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताललगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार रहेको जानकारी दिए । उनले भने, ‘मन्त्रालयले सहरीकरणमा थुप्रै राम्रा काम गरिरहेको छ । अब हाम्रा सहरहरूको सौन्दर्य बढाउन पनि पहल गर्नुपर्छ ।’ कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले आगामी बजेटमा मेगा सिटी निर्माणका लागि बजेट थप्नुपर्ने बताए ।