इस्लामावाद । पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको संख्या शून्यमा झरेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत मङ्गलबार र बुधबार पाकिस्तानमा कोरोनाभाइरसका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २१० जना नयाँ संक्रमित भएका छन् । योसँगै अहिलेसम्म कुल संक्रमितको सङ्ख्या १५ लाख २३ हजार ७२ पुगेको छ । दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोना भाइरसविरुद्धको लडाइँँमा सन्तोषजनक सफलता हासिल गरेको छ ।
पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या भने एक सय ८० रहेको अधिकारीहरूले जनाएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या कम रहेकाले सक्रिय संक्रमितहरूको संख्या भने बढेको देखिएको छ । पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३० हजार तीन सय ३३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)