काठमाडौं । सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी)लाई निरन्तरता दिन सहकारी संस्थाहरूले माग गरेका छन् । उक्त परियोजना सञ्चालनमा रहेका छवटा जिल्ला सहकारी संघहरूले परियोजनाको थप निरन्तरताको माग गरेका हुन् ।
सीएमडीपी अवलोकन भ्रमण तथा परियोजना प्रभावकारिताको समीक्षा कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोट, जिल्ला संघ धादिङ, चितवन, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोकले सीएमडीपी परियोजनाको थप निरन्तरताको माग गरेका हुन् । पाइलट प्रोजेक्टको रूपमा पहिलो पटक सरकारले दातृ निकाय यूएनडीपीसँगको सहकार्यमा स्थानीय कृषि उत्पादनलाई सिधै बजारसँग जोड्ने गरी परियोजना अघि बढाए पनि सो परियोजनाको उद्देश्य पूरा भई नसकेको र लक्ष्यमा पुग्न पनि यसको निरन्तरता खाँचो रहेको उनीहरूको भनाइ छ । थप परियोजनालाई बीचमै छाड्दा राम्रो सन्देश समेत नजाने हुँदा परियोजनाको निरन्तरता अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ । तर, यता परियोजना नपाउने प्रदेशका अन्य जिल्ला संघहरूले भने सो अवसर आफूहरूले पनि पाउनुपर्ने माग गरेका छन् ।
नेपाल सरकारको ५१ करोड ५० लाख रूपैयाँ र यूएनडीपीको २२ करोड रूपैयाँसहित थप स्रोत व्यवस्थापन गर्नेगरी कुल एक अर्ब १४ करोड रूपैयाँको पूर्ण प्याकेजमा गत फेब्रुरुअरी, २०१८ देखि यो परियोजना सञ्चालनमा आएको थियो । यस परियोजना ३१ जनवरी, २०२३ मा सकिँदै छ । तर परियोजनाको पाँचवर्षे समयावधि सकिनै लाग्दा लक्ष्यअनुरूपको उपलब्धि खासै हात पार्न नसकिएको सरोकारवाला, परियोजनाका हिस्सेदारहरू नै बताइरहेका छन् । यसका लागि पनि परियोजनाको थप निरन्तरताको खाँचो रहेको उनीहरूको भनाइ छ । खासगरी स्थानीय कृषि उत्पादन फलफूल तथा तरकारीमा हाल कायम बिचौलिया प्रणालीको अन्त्य गर्दै सिधै बजारसम्म कृषक र कृषि उपजको पहुँच स्थापित गर्ने उद्देश्यले सीएमडीपी कार्यक्रम सञ्चालन गरिएको हो ।
यसका लागि परियोजनाले छनोटमा परेका सहकारी संघ संस्थालाई कृषि बिउबिजन, मल, कृषि औजार, ढुवानीका साधनका साथै यस्ता कृषि उपजहरूको व्यवस्थापनका लागि सकल केन्द्र तथा चिस्यान केन्द्र निर्माणका लागि समेत परियोजनाले अनुदान उपलब्ध गराइरहेको छ । हाल परियोजनाले परीक्षणका लागि छनोट गरेको बागमती प्रदेशका छवटा जिल्लाका ७२ वटा सहकारी संस्थाहरूमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । यसबाट प्रत्यक्षरूपमा १४ हजार चार सय कृषक घरधुरी लाभान्वित भएको समेत परियोजनाले दाबी गरेको छ ।
परियोजना साझेदार राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा नुवाकोट र चितवनमा तीनदिने अवलोकन भ्रमण तथा परियोजना समीक्षा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेशअन्तर्गतका १३ वटा जिल्लाहरूमध्ये काठमाडौं, रसुवा, सिन्धुपाल्चोक र सिन्धुलीबाहेकका नौवटा जिल्लाका जिल्ला सहकारी संघका अध्यक्ष प्रतिनिधि उपस्थित रहेका थिए भने परियोजना साझेदार सहकारी महासंघ, सीएमडीपी प्रतिनिधि र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को समेत सहभागिता रहेको थियो ।