बागलुङ । बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने ढोरपाटन–साल्झन्डी सडक विस्तार एवं स्तरोन्नतिको काम आगामी असोज महिनाभित्र सक्ने निर्माण कम्पनीले जनाएको छ ।
असार मसान्तसम्म ५० प्रतिशत निर्माणको काम सकिने र असोजसम्म सबै निर्माणको काम सकेर आयोजना हस्तान्तरण गरिने गरी काम भइरहेको निर्माण कम्पनी लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकाली जानकारी दिए । उक्त सडकको शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अनुगमन समेत गरेका थिए ।
मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । प्रभावित स्थानीयलाई मुआब्जा दिएर सहमतिमै काम अघि बढाउन पनि उनले निर्माण कम्पनीलाई आग्रह गरे । मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको समेत बताए ।
यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ । यस्तै, गादी खोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिछ््याउने काम भइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकाली जानकारी दिए ।
‘हामीले काम तीव्ररूपमा गरिरहेका छौँ’, थकालीले भने, ‘असार मसान्तसम्म पाँच किलोमिटर सडक पक्की गरिसक्छौँ, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गर्छौँ ।’ १० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।