काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १४ गते अर्थात् आज सोमबार फेरि २२ अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत ७ गते पनि राष्ट्र बैंकले ११ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत १५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ वैशाख १३ गते, ९१ दिनेको २०७९ असार १४ गते, एक सय ८२ दिने अवधिको २०७९ असोज ११ गते र तीन सय ६४ दिने अवधिको २०७९ चैत १४ गते परिपक्व हुने अवधि तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने ती ट्रेजरीमा पाँच अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरणअन्तर्गतको रहेको छ । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको टे«जरी बिल जारी गरेको थियो ।