काठमाडौं । सरकारले हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहीनलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई आइतबार लालपुर्जा वितरण गर्दै हालसम्म करिब २० हजार भूमिविहीनले लालपुर्जा पाएको जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले आफूले गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम आगाडि बढाएको बताइन् मन्त्री श्रेष्ठले चार महिनाको अवधिमा गाउँब्लमा रहेका १९ हजार छ सयभन्दा बढी भूमिविहीनलाई लालपुर्जा वितरण गरिसकिएको भन्दै अबको एक वर्षभित्र सबै गाउँब्लकको समस्या समाधान गरीसक्ने गरी कामलाई तीव्र पारिएको उल्लेख गरिन् ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित तथा भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगोरूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।